कृषि उत्पादनको क्यानिङ र प्याकेजिङ उद्योग खोल्न ७० प्रतिशत सरकारी अनुदान, केके छन् मापदण्ड ? |
काठमाडौं । सरकारले क्यानिङ तथा प्याकेजिङ उद्योग स्थापना गर्न ७० प्रतिशत पूँजीगत अनुदान दिने गरी निजी क्षेत्रबाट उद्योग स्थापनाका लागि प्रस्ताव आव्हान गरेको छ । कृषि तथा पशुपंक्षी मन्त्रालयअन्तर्गतको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले लागत सहभागिताका आधारमा त्यस्ता उद्योग स्थापना गर्न चाहने उद्योगीले ३१ दिनभित्र प्रसताव पेश गर्ने गरी शिलबन्दी प्रस्ताव आब्हान गरेको हो ।
सरकारले कृषिउपजको उत्पादनपछिको क्षति न्यूनीकरण, गुणस्तर प्रवद्र्धन, व्यावसायिक तथा औद्योगिक उत्पादन र बजारीकरणमा सहयोग पुर्याउन अनुदान दिने तयारी गरेको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले पहिलो चरणमा काभ्रे जिल्लामा प्रतिस्पर्धाका आधारमा अनुदान सहयोग गरेर उद्योग स्थापना गर्न लागेको छ ।
अनुदान पाउन केके छन् मापदण्ड ?
उद्योगीले ३० प्रतिशत स्वपूँजी लगानी गर्नुपर्ने छ । सो लगानी कम्पनीको जग्गा र चालू खर्चमा समावेश गर्न पाइने छैन । उद्योग स्थापनाको अवधि, क्षमता र प्रकृतिअनुसार बढीमा २ वर्षको हुनेछ । उद्योग स्थापना गर्न आवश्यक जग्गा सञ्चालकको आफ्नै हुनुपर्नेछ । उक्त जग्गामा सडक, बिजुलीलगायत सबै पूर्वाधार तयार हुनुपर्नेछ ।
उद्योगलाई अनुदान दिन छनोट गर्दा प्रतिस्पर्धाका आधारमा मूल्यांकन गरिनेछ । उद्योगीले प्रस्ताव गर्ने व्यावसायिक योजनामा कार्यविधिले तोकेबमोजिम न्यूनतम उत्तीर्ण अंकसहित कम्तिमा ७० प्रतिशत अंक प्राप्त गर्नुपर्नेछ ।