सिन्धुलीमा फेरि बस दुर्घटना, सडकमै भएकाले ठूलो क्षति भएन |

काठमाडौं । गतशुक्रबार सुनकोशी–५, मूलकोटमा बस खस्दा ३ जनाको मृत्यु भएको घटना सेलाउन नपाउँदै फेरि सिन्धुलीमा अर्को बस दुर्घटना भएको छ । काठमाडौंबाट गाइघाट जाँदै गरेको बस सुनकोशी गाउँपालिका–३, रातमाटेमा दुर्घटनामा परेको हो ।
जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रमुख एसपी रामेश्वर यादवका अनुसार बसमा ३० जना सवार थिए । घटनामा एक जना घाइते भएका छन् भने अन्यको अवस्थामा सामान्य रहेको प्रहरीले जानकारी दिएको छ ।
एसपी यादवले भने, ‘बस तल खसेको भए ठूलो क्षति हुनसक्थ्यो, तर, सडकमै दुर्घटना भएको हुँदा ठूलो क्षति हुन पाएन ।’ उनले घटनाबारे थप अनुसन्धान भइरहेको बताए ।