सानिमा बैंकको १७औं साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित |
काठमाडौं । सानिमा बैंक लिमिटेडले १७औं साधारण सभा सम्पन्न भएको छ । बैंकको साधारणसभा कार्तिक १४ गते आइतबार कोभिड-१९ भाइरसको संक्रमणलाई ध्यानमा राख्दै सुरक्षा सावधानीका उपायहरू अपनाइ शेयरधनीहरुको उपस्थितिमा साधारण सभा सम्पन्न गरिएको हो ।
सभामा अधिकतम शेयरधनीहरुको उपस्थितिको लागि भर्चुअल माध्यमको व्यवस्था पनि गरिएको बैंकले जनाएको छ ।
बैंकका अध्यक्ष विनय कुमार श्रेष्ठको अध्यक्षतामा भएको उक्त सभाले सञ्चालक समितिले प्रस्ताव गरे अनुसार हालको चुक्ता पुँजीको १७ प्रतिशत बोनस शेयर र ०.८९४७ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।
यसैगरी सभाले सञ्चालकहरू समेत चयन गरेको छ । संस्थापक समूहको तर्फबाट सञ्चालक समितिमा तुक प्रसाद पौडेल, गायत्री थापा र डा. केशव प्रसाद आचार्यलाई सभाले सर्वासम्मत रूपमा निर्वाचित गरेको हो ।
समितिमा तुक प्रसाद पौडेल र गायत्री थापा भने पुःननिर्वाचित भएका हुन् । बैंकले आर्थिक बर्ष २०७७/७८ मा रु. २.३२ अर्ब खुद मुनाफा गरेको सानिमा बैंकको कुल सम्पत्ति रु. १६०.७५ अर्ब, कुल निक्षेप रु. १३०.८८ अर्ब तथा खुद कर्जा सापटी रु १२३.१७ अर्ब रहेको छ ।
आर्थिक वर्ष २०७६÷७७ को तुलनामा निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमश १८.८८, ३१.४५ र २७.२६ प्रतिशतले बृद्धि गरेको छ ।
गत आर्थिक बर्षको असार मसान्तसम्म बैंकको निष्क्रिय कर्जा ०.१२ प्रतिशत, पुँजीकोष अनुपात १३.५७ प्रतिशत, तरलता २२.१५ प्रतिशत र कर्जा निक्षेप अनुपात (मासिक औसत) ८२.३१ प्रतिशत रहेको छ ।