उपभोक्ता संरक्षण विभागले ठमेलस्थित ‘द कोरियन सप’मा गर्यो शिलबन्दी | चाडबाडको बेला अनुगमन तीव्र, शिलबन्दी गरिएकालाई कालोबजारीअन्तर्गत कारबाही गरिने

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जमलस्थित द कोरियन सपमा आज शिलबन्दी गरेको छ । विभागले उपभोक्तासँग चर्को मूल्य लिई ठगी गरेको भन्दै उक्त पसलमा शिलबन्दी गरेको बताएको छ ।
विभागको टोलीले गरेको अनुगमनका क्रममा उक्त पसलका सञ्चालकले ५ सय प्रतिशतसम्म बढी मूल्य लिएर सामान विक्री गरेको पाइएको थियो । विभागका शाखा अधिकृत दीपकराज पोखरेलका अनुसार कोरियन सपले उपभोक्तासँग अत्यधिक मूल्य लिएको भन्ने उजुरीका आधारमा अनुगमन गरी शिलबन्दी गरिएको हो ।
खरीद मूल्यभन्दा अधिक नाफा राखेर विक्री गरेको अनुगमनका क्रममा देखिएको उनले बताए । उनले भने, ‘कोरियन सपले ७० देखि ५ सय प्रतिशतसम्म मुनाफा राखेर कपडालगायत सामग्री विक्री गरेको पाइयो ।’
उपभोक्ता संरक्षण ऐन, २०७५, कालोबजारी ऐन तथा सामाजिक अपराध ऐनबमोजिम उक्त पसलका सञ्चालकलाई कारबाही हुने विभागले बताएको छ । कालोबजारी ऐनअनुसार व्यापारीले कुनै पनि उपभोक्तालाई सामग्री विक्री गर्दा २० प्रतिशतभन्दा बढी मुनाफा लिन पाइँदैन । चाडबाडको समय पारेर विभागले बजार अनुगमनलाई तीव्रता दिएको उनको भनाइ थियो ।