सिटिजन्स बैंक र खल्तीबीच मोबाइल भुक्तानीसम्बन्धी सहम्झौता |
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल र खल्ती डिजिटल वालेटबीच मोबाइल भुक्तानीमा सहकार्य गर्नेसम्बन्धी सम्झौता भएको छ । सोसम्बन्धी सम्झौतापत्रमा बैंकका डेपुटी सीईओ गणेशराज पोख्रेल र खल्तीका अर्का निर्देशक ध्रुव अधिकारीको उपस्थितिमा बैंकको तर्फबाट प्रमुख सञ्चालन अधिकृत पारसकुमार काफ्ले र खल्तीको तर्फबाट निर्देशक अमित अग्रवालले हस्ताक्षर गरेका हुन् ।
यो सम्झौतासँगै अब सिटिजन्स बैंकका ग्राहकहरूले मोबाइल बैंकिङ तथा इण्टरनेट बैंकिङ सेवा प्रयोग गरी ‘खल्ती’मा सजिलै पैसा लोड गर्न सक्नेछन् । त्यसरी पैसा लोड गरेपछि ग्राहकहरूले विभिन्न वस्तु तथा सेवाहरूको भुक्तानी गर्न सक्नेछन् । बैंकका अनुसार अब ग्राहकहरूले खल्ती प्रयोग गरेर सहजतापूर्वक दैनिक भुक्तानी सेवा प्राप्त गर्न सक्नेछन् ।
बैंकका डेपुटी सीईओ पोख्रेलले आफू डिजिटल प्रविधिमैत्री रहेको र मोबाइलबाटै फिल्मको टिकट काट्ने र अन्य दैनिक भुक्तानीहरू पनि मोबाइल एपमार्फत नै गर्ने गरेको बताए ।