बैंकहरुले मुद्दती निक्षेपको ब्याजदर सार्वजनिक गरे, संस्थागतलाई ९ र व्यक्तिगत १० प्रतिशत |
काठमाडौं । बिहीबार बैंकर संघको भेलाले मुद्दती निक्षेपको ब्याजदर घटाउने सहमति गरेको छ । उक्त भद्र सहमति अनुसार अधिकांश बैंकले नयाँ ब्याज दर सार्वजनिक गरेका छन्। २८ वटै बाणिज्य बैंकहरुका प्रमुख कार्यकारी अधिकृतहरुको उपस्थितिमा मुद्दती निक्षेपको व्याजदर घटाउने भद्र सहमति भएसँगै घटेको सूचना सार्वजनिक गरेका हुन्।
बैंकहरुले संस्थागत मुद्दतिमा ९ प्रतिशत र ब्यक्तिगत १० प्रतिशत गर्ने सहमति भएको छ । राष्ट्र बैंकको नियम अनुसार संस्थागतमा बैंकहरुले प्रकाशितभन्दा एक प्रतिशत बिन्दु बढी दिन सक्छन भने ब्यक्तिगतमा आधा प्रतिशत बिन्दु बढी दिन सक्छन्।
शुक्रवार जारी गरेको सूचना अनुसार एनआईसी एशिया, सिभिल, लक्ष्मी, कुमारी, नविल, हिमालयन, प्रभु, सेञ्चुरी बैंकलगायतले भद्र सहमति अनुसारकै ब्याज प्रकाशित गरेका हुन्।
कृषि विकास, नेपाल बंगलादेश, एनसिसी बैंक र एनएमबी बैंकहरुले न्यूनतम ३ देखि ६ महिनाको लागि भने ८.५० देखि १० प्रतिशतसम्म दिने जनाएका छन्। । त्यस्तै कल डिपोजिटको लागि भएको भद्र सहमतिलाई पनि कार्यान्वयन गरेका छन्। । बैंकहरुले बचतको व्याजदर अधिकतम ७ प्रतिशतसम्म दिने सूचना जारी गरेका हुन्।