ग्लोबल आईएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा ढकाल |
काठमाडौं । ग्लोबल आईएमई बैंकले उच्च पदमा अनुभवी व्यक्तित्वलाई नियुक्त गरेको छ । बैंकले नायव प्रमुख कार्यकारी अधिकृतमा महेश शर्मा ढकाललाई नियुक्त गरेको छ । बैंकका अनुसार नवनियुक्त नायव प्रमुख कार्यकारी अधिकृत ढकालले आजदेखि नै कार्यभार सम्हालेका छन् । यसअघि उनी मेगा बैंकमा सिनियर डेपुटी जनरल म्यानेजरको रूपमा कार्यरत थिए ।
बैंकिङ क्षेत्रमा १८ वर्षभन्दा बढीको अनुभव सँगालेका ढकाल अर्थशास्त्रमा स्नातकोत्तर तथा चार्टर्ड एकाउण्टेण्टसमेत हुन् । उनले तत्कालीन टुरिजम डेभलपमेण्ट बैंक र सिद्धार्थ डेभलपमेण्ट बैंकमा प्रमुख कार्यकारी अधिकृत र नेपाल बैंक लिमिटेडमा डेपुटी जनरल म्यानेजरका साथै केही समय व्यवस्थापन समूहको संयोजकको रूपमा समेत कार्य गरिसकेका छन् ।
तत्कालीन कमर्स एण्ड ट्रष्ट बैंकमा समेत कार्यरत ढकालसँग विभिन्न संघसंस्थाहरुको सञ्चालक समितिमा रही कार्य गरेको अनुभवसमेत छ । उनी हाल नेपाल चार्टर्ड एकाउण्टेण्ट संस्थाको पार्षद्समेत हुन् ।