बैंकर संघले घटायो मुद्दती निक्षेपको ब्याजदर, भोलिदेखि व्यक्तिगतमा १० र संस्थागतमा ९ प्रतिशत | अब ब्याजदरमा सहमति तोड्ने सम्भावना न्यून, सहमति तोड्ने बैंकलाई पनि मनाइयो
काठमाडौं । वाणिज्य बैंकहरूले मुद्दती निक्षेपमा दिने ब्याजदर बल्ल घट्ने भएको छ । धेरै प्रयासपछि पनि बैंक ब्याजदर नघटेपछि सबैै सदस्य बैंकका प्रमुख कार्यकारी र प्रतिनिधिहरूसँग आज बिहान भएको छलफलपछि नेपाल बैंकर्स संघले मुद्दती निक्षेपमा दिने ब्याज दर घटाउन भद्र सहमति गरेको हो ।
हमतिअनुसार अब भोलिबाटै लागू हुने गरी बैंकहरूले संस्थागत मुद्दतीमा ९ प्रतिशत र व्यक्तिगतमा १० प्रतिशत ब्याज दिने सूचना प्रकाशित गर्नेछन् । आजसम्म बैंकहरूले संस्थागत निक्षेपकर्तालाई साढे १० र व्यक्तिगतलाई ११ प्रतिशत ब्याज दिँदै आएका छन् ।
केही बैंकले पूर्वसहमति उल्लघंन गरिरहेका बेला उनीहरूलाई समेत मनाउँदै संघले ब्याज थप घटाउने निर्णय गरेको हो । यो सहमति भने अनौपचारिक हो ।
यसो हुँदा संस्थागतको ब्याजदर बोलकबोलमै बढ्दा पनि १० प्रतिशत पुग्छ । सर्वसाधारणको साढे १० प्रतिशत मात्र पुग्छ । ‘सबै पक्षलाई फाइदा पुर्याउने गरी मुद्दती निक्षेपमा सहमति गरिएको हो,’ बैठकमा सहभागी एक बैंकरले भने, ‘सबैले सार्वजनिक रूपमा ब्याज दर प्रकाशित गर्नुपर्छ र उक्त दरमा थप प्रिमियम तोक्न राष्ट्र बैंकको नियमले रोक्छ । त्यही भएर यसपालि ब्याज दरमा सहमति तोड्ने सम्भावना न्यून रहन्छ ।’
बैंकरले बचतको ब्याजदरमा पनि सीमा लगाएर ७ प्रतिशतभन्दा माथि दिन नपाउने सहमति भएको छ । बैंकले न्यूनतम ब्याज ५ प्रतिशत तोक्नुपर्नेछ । यसअघि केही बैंकले सबै बचतको ब्याज दर ७ प्रतिशत तोक्दा कल डिपोजिटमा पनि ब्याज ७ प्रतिशत नै कायम भएको थियो । अब न्यूनतम सीमा ५ प्रतिशत राख्दा कल डिपोजिटको ब्याज ५ प्रतिशतभन्दा बढ्न पाउँदैन । ती बैंकरले भने, ‘अब कल डिपोजिटको ब्याज दर पनि घट्छ र बैंकहरूको आधार दर न्यून हुन्छ, हामीले ब्याज दरमा सबैलाई इमानदार हुन आग्रह गरेका छौं ।’
केही दिनअघि केही बैंकले पूर्वसहमति तोड्दै संस्थागत निक्षेपकर्तालाई ११ प्रतिशतभन्दा बढी ब्याज दिएका थिए । यसले सहमति तोडिएको भन्दै बैंकरबीच खैलाबैलासमेत मच्चिएको थियो । त्यसलगत्तै संघले २८ वटै बैंकलाई डाकेर छलफल गर्ने निर्णय गरेको थियो ।
मनपरी ब्याज लिएर धेरै निक्षेप उठाउने बैंकहरूलाई पनि आफ्नो स्कीम फिर्ता लिन संघले निर्देशन दिएको छ । बैठकमा सहमतिविपरित बढी ब्याज दिने अभ्यासका बारेमा प्रश्न उठेको थियो । ब्याज दर बढाएर जानु राम्रो अभ्यास नभएको भन्दै बैठकमा आलोचना भएको थियो । बैठकमा राष्ट्र बैंकको ब्याज दर कोरिडोर बारे पनि प्रश्न उठेको थियो ।