तोकिएको भन्दा २२ महिनाअघि नै सुपरमाई आयोजनाको परीक्षण उत्पादन | १५ दिनदेखि नियमित रूपमा ७.८ मे.वा. केन्द्रीय प्रसारण जोडिँदै

फिक्कल । पछिल्लो समय निजी लगानीमा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माण कार्य सम्पन्न भई उत्पादन शुरू भई केन्द्रीय प्रसारण लाइनमा जोडिने क्रम बढ्दो छ । हिजोदेखि इलामस्थित एक आयोजनाले पनि परीक्षण उत्पादन शुरू गरेको छ । निजी लगानीमा निर्माण भएको ७.८ मेगावाटको सुपरमाई जलविद्युत् आयोजनाले परीक्षण उत्पादन शुरू गरेको हो ।
इलाम नगरपालिका–५ वरबोटे र माईजोगमाई– ४ सोयाङको फेदीस्थित माईखोलामा निर्माण गरिएको उक्त जलविद्युत् आयोजनामा उत्पादन भएको ७.८ मेगावाट विद्युत् अब १५ दिनपछिदेखि नै नियण्मित रूपमा उत्पादन भई केन्द्रीय प्रसारण लाइनमा जोडिने भएको छ ।
इलामबाट हालसम्ममा ११ वटा विद्युत् आयोजना सञ्चालनमा आइसकेका छन् भने बाँकी चार आयोजना निर्माणाधीन अवस्थामा रहेका छन् । यसरी विद्युत् आयोजना सम्पन्न हुँदै उत्पादन दिन थालेसँगै अहिले इलामलाई विद्युत्को जिल्ला भनेर भनिन थालिएको छ ।
आयोजनाका प्रबन्ध निर्देशक माधवप्रसाद मैनालीले भने, ‘२०७३ साल चैत महीनादेखि निर्माण शुरू भएको यस आयोजनाले निर्धारित समयभन्दा २२ महीनाअगावै निर्माण सम्पन्न भई उत्पादन शुरू गरेको छ ।’
काम छिट्टै सम्पन्न भएकाले करीब ७ लाख रुपैयाँ बचत हुन सक्ने कम्पनीका अध्यक्ष मोहन कार्कीले बताएका छन् । उक्त आयोजनाका लागि सिद्धार्थ बैंक, सानिमा बैंक, सेञ्चुरी कमर्सियल बैंक र ज्योति विकास बैंकले १ अर्ब ५० लाख रुपैयाँ ऋण लगानी गरेका छन् ।