वर्ल्डलिंकले ट्राफिक प्रहरीलाई दियो विद्युतीय स्कुटर |
काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन लिमिटेडले महानगरीय ट्राफिक प्रहरी महाशाखालाई इलेक्ट्रिक स्कुटर उपलब्ध गराएको छ । कम्पनीले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत उपहार स्वरूप इलेक्ट्रिक स्कुटर दिएको हो ।
बुधबार कम्पनीका कार्यकारी निर्देशक मनोज अग्रवालले ट्राफिक प्रहरी महाशाखा प्रमुख जनक भट्टराई उक्त स्कुटर हस्तान्तरण गरेका हुन् । यसबाट ट्राफिक प्रहरीको काममा सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे ।
ट्राफिक प्रहरीले महिला तथा अपाङ्ग आरक्षण सिटको प्रयोग र भाडा चेक जाँचका लागि उक्त स्कुटर प्रयोगमा ल्याउनेछ । ट्राफिक प्रहरीको आवश्यकतालाई मध्यनजर गर्दै वर्ल्डलिंकले यस किसिमको सहयोग उपलब्ध गराएको हो ।
ट्राफिक साइरन जडित यो जापानिज स्कुटर एक पटकको चार्जमा १०० किलोमिटरसम्म गुड्न सक्छ । ट्राफिक महिलालाई मोटरसाइकल चलाउन गाह्रो हुनेगरेको अवस्थामा यो विद्युतीय स्कुटरले सहज हुने अपेक्षा गरिएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भट्टराईले वर्ल्डलिंकबाट प्राप्त विद्युतीय स्कुटर महिला प्रहरीले प्रयोग गर्ने बताए ।