सिडिएससिले बनाएको एपिआई सफ्टवेयर आउने साता युएटी गर्ने तयारी |
काठमाडौं । केन्द्रीय निक्षेप प्रणाली (सीडिएससि)ले एपिआई (एप्लिकेसन प्रोग्रामिङ इन्टर फेस) सफ्टवेयर तयार गरेको छ । उसले नेपाल स्टक एक्सचेन्ज(नेप्से) र सदस्य दलाल लगायतलाई तथ्याङ्क आदान प्रदान गर्न सहजता हुने गरी उक्त सफ्टवेयरको काम सकिएको जनाएको छ ।
“हामीले एपिआई सफ्टवेयर निर्माण कार्य सम्पन्न गरेका छौ” सडिएससीका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यले भने ।
तयार भएको सफ्टवेयरलाई युएटी (युजर एसेप्टेन्स टेस्टिङ) गर्ने तयारी छ । कुनै पनि सफ्टवेयर तयार भएपछि कार्यान्वयनमा लैजानु पूर्व उक्त सफ्टवेयर चलाउन योग्य भए नभएको जाँच गर्नको लागि युएटी गर्ने गरिन्छ । युएटी सफ्टवेयर निर्माता कम्पनीले गर्न पाउँदैन। त्यस्तै काम गर्ने अर्को सफ्टवेयर निर्माण गर्ने कम्पनी मार्फत गराउनु पर्छ । यसका लागि प्रयोगकर्ता कम्पनीले सार्वजनिक सूचना मार्फत युएटी गर्न सक्ने कम्पनीहरूलाई आह्वान गर्नु पर्छ। आह्वान मार्फत आएका कम्पनीहरू मध्ये एकलाई प्रयोगकर्ता कम्पनीले युएटीको लागि चयन गर्छ। चयन भएको कम्पनीले उक्त सफ्टवेयर ठीक भए∕नभएको प्रमाणित गर्ने गर्छ।
युएटीमा पास भए उक्त सफ्टवेयर कार्यान्वयनमा जाने छ। अहिलेकै अवस्थामा द्रूत गतिमा काम भए आउने दुई महिनासम्ममा उक्त सफ्टवेयर कार्यान्वयनमा जाने आचार्यले बताए । सफ्टवेयर कार्यान्वयनमा गएपछि नेप्से र सदस्य दलाल कम्पनीले सोझै सिडिएसीबाट डाटा लिन पाउने छन्। उनीहरूले उक्त डाटा चलाए बापत सिडिएससिलाई निश्चित शुल्क बुझाउनु पर्छ ।
यति बेला भने सिडिएसिको डाटा नेप्से र ब्रोकरले निːशुल्क चलाउँदै आएका छन्। सिडिएससि नेप्सेको सहायक कम्पनी भएकोले पनि डाटा सित्तैमा चलाउँदै आएको हो। तर कानुनी रुपमा सिडिएससि नेप्सेकै सहायक कम्पनी भए पनि उसले सिडिएसिको सम्पत्ति सित्तैमा चलाउन पाउँदैन। कम्पनी नै फरक र उद्देश्य समेत अलग अलग राखेर स्थापना भएपनि नेप्सेले आफूखुसी डाटा प्रयोग गर्दै आएको छ। जसले सीडिएससिको गोपनीयतामा समेत दख्खल पुग्दै आएको छ।
यति बेला नेप्सेले सिडीएससिको डाटा आफूले मात्रै प्रयोग गर्ने गरेको छैन। उसले ब्रोकर कम्पनीलाई समेत उक्त डाटा उपलब्ध गराउँदै आएको छ। सिडिएसिको आफ्नै एपिआई सफ्टवेयर र पोलिसि नभएको कारणले पनि नेप्सेले उक्त डाटा चलाउनै पर्ने अवस्था थियो। तर सधैँभरी यसरी नचल्ने भन्दै सिडिएिससिले आफ्नै सफ्टवेयर निर्माण गरेको हो। जसको कार्यान्वयन पछि नेप्से र ब्रोकरलाई सोझै सडिएससिले आवश्यक पर्ने डाटा एपिआई मार्फत दिने छ।
एपिआई सफ्टवेयरसँगै सिडिएससिले उक्त सफ्टवेयर संचालनको लागि पोलिसि समेत निर्माण गरेको छ। सोही पोलिसिमा टेकेर उक्त सफ्टवेयर सञ्चालनमा आउने छ।
एपिआइ भनेको के हो ?
कुनै पनि कम्प्युटरमा गरिने काम अर्को कम्प्युटरमा समान रूपले गर्न यस्तो प्रविधि अवलम्बन गरिन्छ । यस्तो प्रविधि जोडेपछि धेरै वटा कम्प्युटरमा एकै पटक एकै किसिमको काम गर्न सकिन्छ। एपिआई प्राप्त गरेपछि एकै किसिमको काम फरक फरक सफ्टवेयरबाट समेत काम गर्न सकिन्छ। जसले नयाँ र आफू अनुकूलको सफ्टवेयर प्रयोग गर्न सकिन्छ ।
विश्व स्तरमै एपिआई पोसिली बनाएर मात्रै आफ्नो काम गर्ने संस्था र निश्चित कम्पनीलाई उक्त कम्प्युटरमा प्रवेश गर्ने गरी मापदण्ड बनाएर दिइन्छ। प्रयोगकर्ताले मापदण्ड भित्र रहेर काम गर्नु पर्छ । एपिआई दिने र लिने दुवैले पालना गर्नु पर्ने नियम र दण्ड त्यो पोसिली अन्तर्गत हुन्छ ।