साहस उर्जाको आईपीओमा आजसम्म आवेदन दिन सकिने |
काठमाडौं । साहस उर्जा लिमिटेडले असोज ६ गतेदेखि सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (असोज १० गते) अन्तिम दिन रहेको छ ।
कम्पनीले ७० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेको हो। यस अनुसार कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ७० लाख कित्ता साधारण शेयर निष्काशन गरेको छ ।
निष्काशन गरिएको कुल शेयरमध्ये ३ प्रतिशत अर्थात २ लाख १० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। सर्वसाधारणले बाँकी ६४ लाख ४० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार कम्पनीको आइपीओमा शुक्रबार दिउसो साढे २ बजेसम्ममा १७ लाख २० हजार जना आवेदकले २ करोड ४६ लाख ९ हजार ७६० कित्ता शेयर खरिदको लागि आवेदन दिएका हुन् ।
सो शेयरमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० लाख ५० हजार कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ ।
आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपि आईआर डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीले वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँदछ ।
सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।