‘पुनर्निर्माणको काममा तीव्रता दिन सबै स्थानीय तहमा वरिष्ठ इञ्जिनियरको व्यवस्था गरिएको छ’ | पूरातात्विक महत्वका सम्पदाको पुनर्निर्माणलाई गति दिन पुरातत्व विभागसँग छलफल जारी
काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीले निजी आवास पुनर्निर्माणको काममा तीव्रता दिन सबै स्थानीय नियकाहरूमा वरिष्ठ इञ्जिनियरहरूको व्यवस्था गरिएको बताएका छन् । उनले वरिष्ठ इन्जिनियरहरूको सेवा र सुविधा दिने व्यवस्था विश्व बैंकबाट मिलाउन लागिएको पनि स्पष्ट पारेका छन् । उनले मंगलवार काठमाडौंमा आयोजित पत्रकारहरूसँगको अन्तरक्रियामा त्यस्तो खुलासा गरेका हुन् ।
उनले प्राधिकरणले सेवाग्राहीले अनुदान सहज ढंगले पाउन राष्ट्र बैंकलाई पत्राचार पनि गरिसकेको बताएका छन् । पूरातात्विक महत्वका सम्पदाहरूको पुनर्निर्माणका कामलाई गति दिन पुरातत्व विभागसँग आवश्यक छलफल भइरहेको उनको भनाइ थियो ।
सीईओ ज्ञवालीले काष्ठमण्डपको कामलाई तीव्रता दिन आवश्यक काठ, कालीगढको व्यवस्थासमेत भइसकेको जानकारी दिए । प्राधिकरणले शिक्षण संस्था, स्वास्थ्य संस्थाहरूको पुनर्निर्माणमा पनि ढिलाइ नहुने बताएको छ ।