अझै बनेन निपा संक्रमित उपचार केन्द्र | सचेत रहन स्वास्थ्य मन्त्रालयको आग्रह, ४५ देखि ७५ प्रतिशतमा मृत्यु हुने जोखिम
काठमाडौँ । निपा भाइरस संक्रमितको सहज उपचारका लागि हेपा फिल्टरसहितको अत्याधुनिक आइसोलेसन सेन्टर आवश्यक पर्छ । विज्ञहरूले तीन वर्षअघि नै निपा भाइरसजस्ता अत्यन्त घातक संक्रमणको उपचारका लागि आवश्यक संरचना नभएको भन्दै हेपा फिल्टरसहितको अत्याधुनिक आइसोलेसन सेन्टरको आवश्यकता औंल्याएका थिए ।
भारतीय राज्य केरलको कोझिकोड जिल्लामा गत आइतबार निपा संक्रमणका कारण १२ वर्षीय बालकको ज्यान गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले देशभरका १ सय १८ स्वास्थ्य निकायलाई पत्र पठाएको छ । पत्रमा भाइरसका शंकास्पद लक्षण देखिएका व्यक्तिमा थप परीक्षण गर्न सतर्क गराएपछि हेपा फिल्टरसहितको आइसोलेसन सेन्टरको आवश्यकताबारे बहस सुरु भएको हो ।
सन् २०१८ को जुनमा केरलकै कोझिकोड र मलप्पुर जिलामा निपा भाइरसको संक्रमणका कारण १८ जनाको मृत्यु भएको थियो । त्यतिबेला नै विज्ञहरूले नेपालमा पनि निपा संक्रमणको केस पहिचान भएको तर अत्याधुनिक आइसोलेसन वार्ड नहुँदा उपचार कठिन भएको बताएका थिए । ‘निपाको केस पहिचान भइहालेको खण्डमा पनि त्यसलाई ह्यान्डल गर्न हामीसँग क्षमता छैन,’ डा.केदारप्रसाद सेन्चुरीले त्यतिबेला नै बताएका थिए । डा.सेन्चुरीले अत्याधुनिक आइसोलेसन सेन्टरको आवश्यकता औंल्याएको तीन वर्ष बितिसक्दा पनि कुनै प्रगति भएको छैन ।
भारतमा देखियो निपा भाइरस, कति जोखिममा नेपाल ?
ईडीसीडीका निर्देशक डा.कृष्णप्रसाद पौडेल भने नेपालमा भाइरसको जोखिम रहेको भए पनि उपचारका लागि आवश्यक व्यवस्थापन गर्न सकिने दाबी गर्छन् । ‘उपचारका लागि छुट्टै बेड छैन, तर आवश्यक परे व्यवस्थापन गर्न सक्छौं,’ उनले भने । भाइरसको उपचारका लागि भने हेपा फिल्टरसहितको आइसोलेसन हुनुपर्ने उनको भनाइ छ ।
संक्रमण फैलन सक्ने निपा, सार्स, कोभिड वा अन्य कुनै प्रकारका सरुवा रोग उपचारका लागि प्रयोगमा आउन सक्ने स्वास्थ्य पूर्वाधार निर्माण गर्नुपर्ने पौडेल बताउँछन् । त्यस्तै, सातवटै प्रदेशमा बन्न लागेका संक्रामक अस्पतालको पूर्वाधार संक्रामक रोग लक्षित हुनुपर्ने उनको सुझाव छ । विश्व स्वास्थ्य संगठनका अनुसार सिलिगुडीमा दुई दशकअघि देखिएको निपा संक्रमणको मृत्यु दर ६८ प्रतिशत थियो । भाइरसविरुद्ध हालसम्म कुनै खोप विकास हुन सकेको छैन ।
सचेत रहन स्वास्थ्य मन्त्रालयको आग्रह
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निपाह भाइरसको सङ्क्रमणप्रति सचेत रहन आग्रह गरेको छ । मन्त्रालयले भारतमा यस प्रकारको भाइरसको सङ्क्रमण देखिएकाले नेपालमा पनि फैलिन सक्ने भएकोले सचेत रहन आग्रह गरेको हो ।
पौडेलले भारतसँग खुला सिमा भएकाले यहाँ पनि फैलिनसक्ने भएकाले सचेत रहन आग्रह गरिएको बताए । भारतको केरला राज्यमा केही दिनदेखि निपाह भाइरसको सङ्क्रमण देखिएको छ ।
के हो निपा भाइरस ?
निपा भाइरस जनावरबाट मानिस फैलिने संक्रमण हो । फलफूल खाने चमेरो भाइरसको प्राकृतिक वाहक मानिन्छ । फलफूलमा बस्ने त्यस्तो चमेरो नेपालका तराई क्षेत्रमा पाइने डा. पौडेल बताउँछन् । डब्लूएचओका अनुसार यो भाइरस दूषित भोजनको माध्यमले वा सीधै एक व्यक्तिबाट अर्कोमा फैलिन्छ । डब्लूएचओका अनुसार सन् १९९८ मा मलेसियाको काम्पुंग सुगइमा पहिलोपटक निपा भाइरसको संक्रमण पुष्टि भएको थियो । त्यतिबेला यो रोग संक्रमित सुँगरको कारण किसानमा फैलिएको जनाइएको थियो ।
निपा संक्रमितमा सुरुमा ज्वरो आउने, टाउको दुख्ने, वान्ता हुने, मांसपेसी दुख्ने तथा घाँटी दुख्नेलगायतका लक्षण देखिन्छ । डब्लूएचओका अनुसार त्यसपछि चक्कर आउने, स्मरण शक्तिमा समस्या हुने र इन्सेफलाइटिसको संकेत गर्ने स्नायुसम्बन्धी समस्याहरू देखिन थाल्छन् । केही संक्रमितमा असामान्य निमोनिया र श्वासप्रश्वाससम्बन्धी गम्भीर समस्यासमेत हुन सक्छ