७१.४३ अंक बढेर २९४७.४२ विन्दुमा नेप्से, ९ अर्ब ४४ करोडको कारोबार |
काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक बढेको छ। गत साता करिब ५१ अंक घटेर २८७५.९८ विन्दुमा बन्द भएको नेप्से, यस दिन ७१.४३ अंक बढेर २९४७.४२ विन्दुमा पुगेको छ।
यस दिन नेप्सेसँगै कारोबार रकममा पनि सुधार भएको छ। गत साताको अन्तिम कारोबार दिन ७ अर्बको शेयर कारोबार भएको बजारमा यस दिन २३१ कम्पनीको ९६ हजार ५९१ पटकको कारोबारमा ९ अर्ब ४४ करोड ३५ हजार रुपैयाँ बराबरको १ करोड ७१ लाख कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन सेन्सेटिभ इण्डेक्स १३.०३ अंक बढेको छ भने फ्लोट इण्डेक्स ४.९१ अंक र सेन्सेटिभ फ्लोट ४.७२ अंक बढेको छ।
आइतबार कारोबारमा आएका १० कम्पनीहरुको शेयर १० प्रतिशत बढेर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन छ्याङ्दी हाइड्रोपावर, नेशनल हाइड्रोपावर, फस्ट माइक्रोफाइनान्स, पाँचथर पावर, लिबर्टी इनर्जी, अरुण काबेली, सानिमा लाइफ इन्स्योरेन्स, अपि पावर र राष्ट्रिय बीमा कम्पनीको साधारण तथा संस्थापक शेयरको मूल्य १० प्रतिशत बढेर कारोबार भएको हो।
यस दिन मूल्य सर्वाधिक घटेको कम्पनीको सूचीमा सिटिजन्स म्युचुअल फण्ड १ शीर्ष स्थानमा रहेको छ। सो फण्डको इकाईमूल्य यस दिन ३.५८ प्रतिशत घटेको छ। त्यसैगरी, रैराङ्ग हाइड्रोपावर र एनआईसी एशिया ग्रोथ फण्डको मूल्य २ प्रतिशतभन्दा बढी घटेको छ।
यस दिन १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक बढेको छ भने एकको मात्र घटेको छ। यस दिन जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक ६.३७ प्रतिशत बढेको छ। त्यसैगरी, कारोबारमा आएको विकास बैंकको परिसूचक ५.१३ प्रतिशत बढेको छ भने वित्त र उत्पादनमूलक उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.२९ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ७३ करोड ७७ लाखभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, युनाइटेड मोदीको यस दिन ४५ करोड ११ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ।