आँखुखोलाको आईपीओ आजदेखि खुल्ला, १३ हजार ७६ कित्ता निष्कासन हुँदै |
काठमाडौं । निजीक्षेत्रबाट प्रवद्र्धित आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडले आजदेखि साधारण शेयर (आईपीओ) निष्कासन गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १३ करोड ७६ लाख रुपैयाँबराबरको १३ लाख ७६ हजार कित्ता आईपीओ निष्कासन गरेको हो ।
आईपीओ निष्कासन बन्द हुने छिटोमा असोज २६ र ढिलोमा कात्तिक ६ गते हुने निष्कासन तथा विक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट्स लिमिटेडले जानकारी दिएको छ । सिभिल क्यापिटल मार्केट्सका अनुसार न्यूनतम ५० कित्ता र अधिकतम ६ हजार कित्तासम्म आईपीओ भर्न पाइनेछ ।
कम्पनीले १२ करोड रुपैयाँ र आयोजना प्रभावित स्थानीय बासिन्दालाई निष्कासन गर्दा विक्री नभएको १ करोड ७६ लाख रुपैयाँको समेत गरी आईपीओ निष्कासन गर्न लागेको हो । कुल निष्कासनमध्ये ६८ हजार ८ सय १ कित्ता आईपीओ सामूहिक लगानी कोष र २७ हजार ५ सय २० कित्ता कर्मचारीलाई छुट्याइएको सिभिलले बताएको दिएको छ ।
धादिङमा ८.४ मेगावाटको आँखुखोला आयोजना सञ्चालन गरिरहेको छ । २०७० मंसिरदेखि कम्पनीले व्यापारिक रूपमा बिजुली उत्पादन गरेको कम्पनीले आँखुखोला आयोजनामा बनाउन २ अर्ब ४२ करोड ७३ लाख रुपैयाँ लगानी भएको छ । आयोजनामा ७५ प्रतिशत अर्थात ६० करोड रुपैयाँ संस्थापक र २५ प्रतिशत अर्थात् २० करोड रुपैयाँ सर्वसाधारणको लगानी हुने गरी शेयर संरचना तयार पारिएको छ । चुक्तापूँजी ८० करोड रुपैयाँ पुग्नेछ सो आयोजनाबाट ९ वर्षमा लगानी फिर्ता हुनेछ ।