चन्द्रागिरि केबलकार आजदेखि सञ्चालनमा, जीपलाइन पनि आजैबाट शुरु |
काठमाडौं । कोरोना महामारीका कारण बन्द रहेको चन्द्रागिरि केबलकार आज शनिबारदेखि सञ्चालनमा आउने भएको छ । शनिबारदेखि नियमित रुपमा केबलकार सञ्चालन गर्न लागेको चन्द्रागिरि हिल्सका महाप्रबन्धक अभिषेकविक्रम शाहले जानकारी दिएका छन् ।
‘कोभिड–१९ को कारणले बन्द भएको केबलकार तथा रेष्टुरेन्ट लगायतका सेवा भदौ १९ गतेदेखि स्वास्थ सुरक्षा मापदण्डका साथ पुनː सञ्चालन हुनेछन्,’ शाहले भने ।
पौराणिक महत्त्व बोकेको भालेश्वर मन्दिर दर्शन गर्न भारत लगायत अन्य देशबाट समेत पर्यटकहरु चन्द्रागिरि पुग्ने गरेका छन् । पछिल्लो समय चन्द्रागिरि आन्तरिक तथा बाह्य पर्यटकका लागि महत्त्वपूर्ण गन्तव्य स्थल बनिसकेको छ ।
चन्द्रागिरिमा आजदेखि जीपलाइन सञ्चालनमा ल्याइने भएको छ । चन्द्रागिरि हिल्स लिमिटेडको लगानीमा स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गरेर नेपालकै सबैभन्दा उच्च स्थानमा जीपलाइन सञ्चालनमा ल्याउन लागेको हो ।
चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेक बिक्रम शाहले भालेश्वर मन्दिर नजिकदेखि खेल मैदानसम्म १०० मीटर जीपलाइन सञ्चालनमा ल्याउन लागेको राससलाई जानकारी दिए ।