चितवनमा चाडपर्वभरि सुरक्षा कडा हुँदै, ४ सय ५६ जना प्रहरी फिल्डमा |
चितवन । आउँदै गरेको दशैंतिहार तथा छठ पर्वलाई लक्षित गरी चितवन प्रहरीले जिल्लामा विभिन्न नौवटा क्षेत्रहरू बनाई विशेष सुरक्षा योजना बनाएको बताइएको छ । चितवन प्रहरीले बनाएको उक्त चाडपर्व लक्षित सुरक्षा योजनामा करिब ४ सय ५६ जना प्रहरी खटाइने चितवनका प्रहरी प्रमुख एसपी सुशीलसिंह राठौरले जानकारी दिएका छन् ।
हाल चितवन जिल्लामा ट्राफिक प्रहरीसहित जम्मा ७ सय १४ प्रहरी जनशक्ति रहेको छ । एसपी राठौरका अनुसार विभिन्न चोकमा सुरक्षाका लागि ९१ जना, राजमार्ग र भित्री सडकमा मोबाइल गस्ती गर्न १४ वटा प्रहरी इकाइका ५६ जना, प्रहरी, बैंक तथा वित्तीय संस्था, सुनचाँदी पसल एवम् ठूला कारोबार हुने बजार क्षेत्रमा ५५ जना प्रहरी खटिनेछन् । छड्के जाँचका लागि २७ वटा प्रहरी इकाइ अन्तर्गत ६१ जना परिचालन गरिनेछ ।
पटाका र विस्फोटक पदार्थ नियन्त्रणका लागि आठवटा प्रहरी इकाइका ४८ जना परिचालित गरिने चितवन प्रहरीले जानकारी दिएको छ । प्रहरीले टिकट काउण्टरको नियमित अनुगमन गर्ने र समस्या आएमा तत्काल सम्बोधन गर्ने गरी भरतपुरको केन्द्रीय बसपार्क, पोखरा बसपार्क र पुल्चोकमा यात्रु सहायता कक्ष राखिनेछ । बढी भाडा लिए–नलिएको अनुमगन गर्न ट्राफिक प्रहरीले पनि छड्के जाँच गर्नेछ ।
जुवातास घर, मदिरा बिक्रीवितरणका कारण हुने झैझगडालाई समुदायको सहयोगमा नियन्त्रणमा लिने योजना प्रहरीको छ । मूल्यवृद्धि नियन्त्रणमा पनि प्रहरी परिचालन गरिने एसपी राठौरले बताए । उनका अनुसार चितवनमा सादा पोशाकमा ठूलो संख्यामा प्रहरी परिचालन गरिनेछ ।
साथै, भयरहित वातावरणमा मर्यादित ढंगले चाडपर्व मनाउन र प्रहरीसँग आवश्यक समन्वय गर्न पनि चितवन प्रहरीले आम नगरिकहरूलाई अपिल गरेको छ ।