सवारी लाइसेन्सको परीक्षा खुलाउने तयारीमा सरकार |
काठमाडौं । यातायात व्यवस्था विभागले सवारी लाइसेन्सको लिखित तथा प्रयोगत्मक परीक्षा खुलाउने भएको छ । विभागले कोभिड १९ संक्रमणको अवस्थामा सवारी चालक अनुमति पत्र परीक्षा सम्बन्धी मापदण्ड लागू गर्दै लाइसेन्सको परीक्षा खुलाउने भएको हो ।
मापदण्ड अनुसार कार्यलयको जनशक्ति, परिक्षा सञ्चालनको लागि आवश्यक भवन र परीक्षा हलको उपलब्धताको आभारमा एक सिफ्टमा बढीमा १०० जना परिक्षार्थीको परीक्षा गराउने सकिनेछ ।
एउटा कोठामा बढीमा २५ जना परीक्षार्थी रहने गरी परीक्षा व्यवस्थापन गर्नुपर्नेछ । तर परीक्षा हल ठुलो भएमा स्वास्थ्य मापदण्ड पुरा गरेर २५ जना भन्दा बढी परीक्षार्थी समावेश गराउन सकिने मापदण्डमा उल्लेख छ ।
परीक्षा सञ्चालन गर्दा भीडभाड नहुने गरी खुला ठाँउ भएको विद्यालय वा खन्य भवनलाई लिखित परिक्षाको लागि प्रयोग गर्न सकिने व्यवस्था छ ।
यस्तै ट्रायल परीक्षाको लागि भने सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी कार्यालयको जनशक्ति र ट्रायल परीक्षाको लागि आवश्यक स्थानको आधारमा परीक्षा सञ्चालन गर्न सकिनेछ ।
ट्रायल परीक्षा सञ्चालन गर्दा एक सिफ्टमा बढीमा ५० जना परिक्षार्थीलाई सहभागि गराउन सकिने व्यवस्था छ ।