पत्रकारको न्युनतम पारिश्रमिक २५ प्रतिशतले बढने |
काठमाडौं । आज बसेको मन्त्रिपरिषद बैठकले श्रमजिवी पत्रकारको न्युनतम पारिश्रमिक कम्तिमा २५ प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको छ ।
यसअघि श्रमजिवी पत्रकारको न्युनतम पारिश्रमिक १९ हजार ५ सय रहेकोमा अब २४ हजार ३ सय भन्दा कममा पत्रकारलाई काममा लगाउन नपाइने सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले बताए ।
यो निर्णय कात्तिक १ गतेपछि सरकारी र निजी सबै सञ्चारमाध्यममा लागू हुने बास्कोटाले जानकारी दिए । अनलाइन सञ्चारमाध्यमले भने आफू राष्ट्रिय, प्रादेशिक वा स्थानीय कुन स्तरको सञ्चार संस्था हो भन्ने स्वघोषणा गर्नुपर्ने सरकारले बताएको छ । सोही अनुसार ती संस्थामा पारिश्रमिक लागु हुनेछ ।
सरकारले गोरखापत्र संस्थापनको कार्यकारी अध्यक्षमा कृष्णमुरारी भण्डारीलाई नियुक्त गरेको छ । वरिष्ठ पत्रकार तथा लेखक स्तम्भकार भण्डारीलाई आइतवारको मन्त्रिपरिषद बैठकले कार्यकारी अध्यक्षमा नियुक्त गरेको हो ।