शेयर बजार करेक्सनतर्फ, नेप्से ५६ अंक घट्यो |
काठमाडौं । शेयर बजारमा मंगलबार पनि करेक्सन देखिएको छ । गत विहीबार सामान्य अंक घटेर बन्द भएको शेयर बजार मंगलबार पनि ५३ अंकले घटेको छ ।
मंगलबार नेप्से सूचक १.७६ प्रतिशत अर्थात ५६.०३ अंकले घटेर ३१२४.८७ विन्दुमा झरेको छ भने सेन्सेटिभ सूचक पनि १२.८१ अकंले घटेको छ ।
मंगलबार नेप्से सूचकसँगै कारोबार रकम समेत केहि घटेको छ । बिहीबार २० अर्ब माथिको शेयर कारोबार भएकोमा मंगलबार १६ अर्ब १२ करोड रुपैयाँको शेयर कारोबार भएको छ । मंगलबार २२५ वटा कम्पनीको २ करोड ५३ लाख १६ हजार ८०५ कित्ता शेयर १६ अर्ब १२ करोड ४४ लाख ६८ हजार ६० रुपैयाँमा खरिद बिक्री भएको छ ।
यस दिन एक दर्जन बढी कम्पनीको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा अधिकांश हाइड्रोपावर कम्पनी रहेका छन् ।
यस दिन २० कम्पनीको शेयर ९ प्रतिशतभन्दा धेरैले घटेको छ जसमा १ लगानी उपसमूहको कम्पनी रहेको छ भने बाँकी हाइड्रोपावर कम्पनी रहेका छन्। उच्च रुपले घट्ने कम्पनीको शिर्ष स्थानमा नेश्ननल हाइड्रोपावर, जलविद्युत लगानी तथा विकास कम्पनी, खानिखोला हाइड्रोपावर, दिव्यश्वरी हाइड्रोपावर लगायतका कम्पनी रहेका छन्।
घटेको बजारमा पनि दुई कम्पनीको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। गोर्खाज फाइनान्स र जीवन विकास लघुवित्तको शेयर १० प्रतिशतले बढेको हो । यस्तै सेन्ट्रल फाइनान्सको ७.४७ प्रतिशत, नेको इन्स्योरेन्स ५.०६ प्रतिशत र जनरल इन्स्योरेन्स ४.४९ प्रतिशतले बढेको छ।
मंगलबार अरुण भ्याली हाइड्रोपावरको सबैभन्दा धेरै ७५ करोड ४३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने अरुण कावेली हाइड्रोपावरको ७१ करोड ९१ लाख रुपैयाँ, नेशनल हाइड्रोको ५८ करोड ५३ लाख रिद्धि हाइड्रोपावरको ४७ करोड २० लाख र नेपाल बैंकको ४१ करोड ७६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। कारोबारमा हाइड्रोपावर कम्पनीहरुकै बर्चस्व धेरै छ।
यस दिन कारोबारमा आएका १३ उपसमूहमा दुई उपसमूहको सूचक सकारात्मक देखिएको छ भने बाँकी ११ उपसमूहको सूचक नकारात्मक देखिएको छ। मंगलबार हाइड्रोपावर उपसमूहको सूचक ६.२१ प्रतिशतले घटेको छ भने लगानी उपसमूहको सूचक पनि ४.४३ प्रतिशतले घटेको छ।