नेप्सेका सिइओ चन्द्रसिंह साउदले दिए राजीनामा | पदीय मर्यादा मिचेको छैन -साउद
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदले राजीनामा दिएका छन् । उनले आज साँझ ५ बजे नेप्सेकै कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरेर राजीनामा दिएको जानकारी दिएका हुन् ।
नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानासहित सीईओ साउद सेयर खरिद प्रकरणमा मुछिएका छन् । यसको चर्को विरोध भएपछि अर्थ मन्त्रालयले ढुङ्गानासहित साउदलाई स्पष्टीकरण सोधिसकेको छ । यद्यपि, हालसम्म मन्त्रालयले स्पष्टीकरणको चित्त बुझ्दो जवाफ पाइसकेको छैन ।
मन्त्रालयलाई चित्त बुझ्दो जवाफ नदिए पनि साउदले आफ्नो गल्ती सुधार गर्दै राजीनामा दिएका हुन् । खासगरी, साउद ‘बुक बिल्डिङ’मा साधारण सेयर (आईपीओ) सार्वजनिक गर्ने निर्णय गरेपछि सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा मुछिएका छन् ।
‘मैले कुनै पदीय मर्यादा विपरीत काम गरेको छैन, विवादमा परेको सेयर पनि कानुनअनुसार नै किनेको हो,’ राजीनामा बुझाएपनि कुराकानी गर्दै साउदले भने,’तर अनुसन्धानलाई सहयोग पुर्याउनका लागि मैले पद छाडेको हुँ ।’
सेयर खरिद प्रकरणमा मुछिएका साउदको नेप्सेमा कार्यकाल सकिन अब ३ महिना मात्रै बाँकी थियो । उनले आजै अर्थ मन्त्रालयमा राजीनामा पत्र बुझाएको बताइएको छ ।