राष्ट्र बैंकले शुरू गर्यो नयाँ नोट वितरण, कहाँ जाने साट्न ? हेर्नुस् |
काठमाडौं । नेपाल राष्ट्र बैंकले आउँदै गरेको दशैंलाई लक्षित गर्दै आजबाट नयाँ नोट वितरण शुरू गरेको छ । राष्ट्र बैंकले आजबाट असोज २९ गतेसम्मका लागि सर्वसाधारणलाई नयाँ नोट सटहीको सुविधा दिन लागेको हो ।
राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेले नयाँ नोट ५, १०, २०, ५० रुपैयाँ दरका नयाँ २÷२ प्याकेट र १ सय रुपैयाँ दरका एक प्याकेट गरी जम्मा २७ हजार रुपैयाँसम्म प्रतिव्यक्ति सटही सुविधा राष्ट्र बैंकले दिने जानकारी दिएका छन् ।
राष्ट्र बैंकका अनुसार नयाँ नोट राष्ट्र बैंकको केन्द्रीय, क्षेत्रीय कार्यालय तथा केही वाणिज्य बैंकहरूबाट समेत सटही गर्न सकिनेछ । सर्वसाधारणको सहजताका लागि नेपाल बैंकको न्यूरोड, कीर्तिपुर, महाराजगञ्ज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपुर शाखाबाट नोट सटही गर्न सकिने व्यवस्था मिलाइएको छ । साथै, राष्ट्रिय वाणिज्य बैंक तथा कृषि विकास बैंकका काठमाडौं उपत्यकाभित्र रहेका शाखाले पनि नोट सटहीको सुविधा उपलब्ध गराउने बताइएको छ ।
उपत्यका बाहिरको हकमा राष्ट्र बैंकका क्षेत्रीय कार्यालयसहित नोट कोष रहेका वाणिज्य बैंकका शाखाबाट सटही गर्न सकिनेछ । नयाँ नोटमा केरमेट तथा काम नलाग्ने गरी जथाभावी प्रयोग नगर्न, नोट नजलाउन, केरमेट नगर्न गैरकानुनी भएको बताउँदै राष्ट्र बैंकले त्यसो गरे ३ महिनासम्म जेल सजाय समेत हुनसक्ने भन्दै सचेत रहन राष्ट्र बैंकले सबैमा अनुरोधसमेत गरेको छ ।