पहिलो महिला मुख्यमन्त्री बनिन् अष्टलक्ष्मी शाक्य | माधव नेपालको साथ छाड्दा मुख्यमन्त्री पुरस्कार !
हेटौंडा । संघीयतामा प्रवेश गरेपछि पहिलो पटक महिलाले प्रदेश सरकारको नेतृत्व गर्ने अवसर प्राप्त भएको छ । बुधबार एमाले नेतृ अष्टलक्ष्मी शाक्य बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएसँगै पहिलो महिला मुख्यमन्त्री बनेर इतिहास रचेकी हुन् ।
डोरमणि पौडेलले दलको नेतासँगै मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् भने अष्टलक्ष्मी शाक्य दल नेतासँगै मुख्यमन्त्री नियुक्त भएकी छन् ।
एमाले उपाध्यक्ष समेत रहेकी शाक्यले बुधबार साँझ नै पद तथा गोपनियताको सपथ लिएकी छन् । साथै तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेकी छन् ।
कृष्ण खनाल सामाजिक विकासमन्त्री र केशवराज पाण्डेलाई आन्तरिक मामिला तथा कानुन मन्त्री नियुक्ति गरिएको छ । पाण्डेलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी पनि दिइएको छ ।
एमालेको नवौं महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित शाक्य मुख्यमन्त्री बन्ने योजनासहित प्रदेशसभामा गएकी थिइन् ।
तर पार्टी नेतृत्व उनलाई मुख्यमन्त्री बनाउन तयार भएन । २६ माघ २०७४ मा दल नेता चयनका लागि भएको चुनावमा उनी डोरमणि पौडेलसँग पराजित भइन् । आफूलाई मुख्यमन्त्री हुन नदिने राष्ट्रपति विद्यादेवी भण्डारी समेत लागेको भन्दै उनले सार्वजनिक मञ्चहरुबाटै भन्ने गरेकी थिइन् ।
एमाले र माओवादी केन्द्रको एकता गरेर नेकपा बन्दा र नेकपाको एकता खारेज गरेर एमाले पुनर्थापित हुँदा पनि उनी नेतृत्वको खरो आलोचक बनिन् । माधवकुमार नेपाल समूहमा खुलेर लागेकी उनले एमाले फुटाएर नेकपा एमाले समाजवादी बनाउने नेता नेपालको कदममा साथ दिइनन् ।
पार्टी एकताको पक्षमा लडेको पुरस्कार स्वरुप शाक्यलाई मुख्यमन्त्री बनाएको निर्वतमान मुख्यमन्त्री पौडेलले पनि बताएका छन् । पार्टी एकताका लागि मैले त्याग गरेको भन्दै उनले भने, उहाँ (अष्टलक्ष्मी) पहिला जसरी सशक्त विरोधमा हुनुहुन्थ्यो, तर अहिले पार्टी एकताको पक्षमा उभिनुभएको छ । पार्टी फुटेर जाँदा पनि उहाँ एकताका पक्षमा लड्नुभयो, त्यसको पुरस्कार हामीले उहाँलाई दिएका हौं ।’
शाक्यले भने आफू कहिल्यै पनि फुट र विभाजनको पक्षमा नलागेको बताएकी छिन् । ‘म कहिल्यै फुटमा लागिनँ । पार्टीको सामूहिक नेतृत्वमा विश्वास गरेँ । त्यसले मात्र पार्टी बलियो बन्छ भन्ने मेरो विश्वास हो, ’ उनले भनिन् ।
कुल ११० सांसद रहेको बागमतीमा बहुमतका लागि ५६ सांसद आवश्यक पर्छ, जुन अहिले सत्तारूढ एमालेसँग छ । त्यसैले प्रदेश प्रमुखले संविधानको धारा १६८ (१) अनुसार मुख्यमन्त्री नियुक्त गरेका छन् ।
तर माधव नेपाल नेतृत्वमा बसेके एमाले समाजवादीमा बाग्मतीका कति सांसद लाग्छन् भन्नेमा धेरै निर्भर हुन्छ ।
प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रका २३, नेपाली कांग्रेसका २२, विवेकशील साझाका ३, नेपाल मजदुर किसान पार्टीका २, राप्रपाका २ र एक स्वतन्त्र सांसद छन् । माओवादी र कांग्रेसका ४५ सांसद छन्, यदि एमाले समाजवादीमा ११ जना सांसद लाग्ने हो भने शाक्यको मुख्यमन्त्री पद धरापमा पर्नेछ ।