नेप्से सूचक सामान्य अंकले बढ्यो, कारोबार रकम १८ अर्ब माथि |
काठमाडौं । विकास बैंक फाइनान्स कम्पनी र हाइड्रोपावर कम्पनीहरुमा नै लगानीकर्ताको आकर्षण मंगलबार पनि देखिएको छ। यस दिन नेप्से सूचक सामान्य अंकले बढ्दा १६ वटा कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमा अधिकांश फाइनान्स,हाइड्रोपावर र विकास बैंक रहेका छन्।
मंगलबार नेप्सेको पुरानो नयाँ वेबसाइटमा दुई थरी तथ्याँक देखिएको छ। नेप्सेको पुरानो वेबसाइटमा नेप्स ०.६६ अंकले घटेर ३१५९.४२ विन्दुमा झरेको छ भने नयाँ वेबसाइटमा ०.२३ अंकले बढेर ३१६०.३२ विन्दुमा उक्लिएको छ। टिएमएसमा समेत सोही तथ्याँक छ।नेप्सेको दुई वेबसाइटमा दुइथरी तथ्याँक आउदा लगानीकर्ता भने अलमलिएका छन्।
मंगलबार कारोबार रकम भने केही बढेको छ। अघिल्लो दिन १६ अर्ब रुपैयाँ भन्दा कमको शेयर कारोबार भएकोमा मंगलबार कारोबार रकम १८ अर्ब रुपैयाँ माथि पुगेको हो। यस दिन १८ अर्ब २० करोड ४९ लाख ३९ हजार २३७ रुपैयाँ बराबरको ३ करोड ६ लाख १३ हजार ४३९ कित्ता शेयर कारोबार भएको छ।
यस दिन १२ कम्पनीको शेयर १० प्रतिशतले बढेको छ भने ४ कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ। मंगलबार उच्च रुपले शेयरमूल्य बढ्ने शीर्ष कम्पनीमा गोर्खाज् फाइनान्स, फस्ट माइक्रोफाइनान्स,दिब्यश्वरी हाइड्रोपावर,अरुण कावेली हाइड्रोपावर र आँखुखोला हाइड्रोपावर कम्पनी रहेका छन्।
यस दिन एनआइविएल प्रगति फण्डको शेयर मूल्य सबैभन्दा धेरै ३.८६ प्रतिशतले घटेको छ भने सिद्धार्थ इक्वीटी फण्डको ३.२४ प्रतिशत, माछापुच्छ्रे बैंकको २.७५ प्रतिशत र प्राइम लाइफ इन्स्योरेन्सको २.५८ प्रतिशतले घटेको छ।
मंगलबार अपि पावरको सबैभन्दा धेरै ८६ करोड ३८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने ६२ करोड ४० लाख,अरुण कावेली हाइड्रोपावरको ६० करोड ३४ लाख,रिद्धि हाइड्रोपावरको ५५ करोड १९ लाख र अरुण भ्याली हाइड्रोपावरको ४३ करोड ७० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
यस दिन विकास बैंकमा लगानीकर्ताको आकर्षण बढ्दा उक्त उपसमूहको सूचक सबैभन्दा धेरै ५.१७ प्रतिशतले बढेको छ भने फाइनान्स उपसमूहको ४.८८ प्रतिशत र हाइड्रोपावर उपसमूहको ३.१७ प्रतिशतले बढेको छ। यस दिन कारोबारमा आएका १३ उपसमूह मध्ये ७ उपसमूहको सूचक नकारात्मक देखिएको छ भने ६ उपसमूहको सूचक सकारात्मक देखिएको छ।