नागरिक लगानी कोषको नाफा १६.३१% बढ्यो |
काठमाडौं । नागरिक लगानी कोषले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा ७१ करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको भन्दा १६.१३% धेरै हो । अघिल्लो वर्ष कोषले ६१ करोड ९६ लाख रुपैयाँ नाफा कमाएको थियो । यसअवधिमा कोषको ब्याज आम्दानी, सेवा शुल्क तथा कमिसन आम्दानी तथा लाभांश आम्दानी बढेपछि खुद नाफा बढ्न टेवा पुगेको हो ।
एक वर्षको अवधिमा ब्याज आम्दानी १३ करोड १७ लाख रुपैयाँबाट बढेर २१ करोड ५५ लाख रुपैयाँ पुगेको छ । यता, अघिलो वर्ष ९४ करोड ७५ लाख रुपैयाँ रहेको सेवा शुल्क तथा कमिसन आम्दानी गत वर्ष बढेर १ अर्ब ३ करोड रुपैयाँ पुगेको छ । विविध आम्दानी १ लाख ६६ हजार रुपैयाँबाट बढे २ लाख १५ लाख रुपैयाँ पुगेको छ । कम्पनीको सेयर पुँजी ३ अर्ब २७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष सेयर पुँजी १ अर्ब ६४ करोड रुपैयाँ रहेको थियो ।
यसको जगेडा कोष पनि १२ अर्ब ८५ करोड रुपैयाँबाट बढेर १६ अर्ब ८ करोड रुपैयाँ पुगेको छ । असार मसान्तसम्म कोषले मुद्दति निक्षेपमा १ खर्ब ३ अर्ब रुपैयाँ राखेको छ भने संगठित संस्थाको सेयरमा १८ अर्ब २८ करोड रुपैयाँ लगानी गरेको छ । नेपाल सरकारको ऋणपत्रमा १ अर्ब ५ करोड रुपैयाँ लगानी रहेको छ । हाल नागरिक लगानी कोषको प्रतिसेयर आम्दानी २२ रुपैयाँ ०१ पैसा र प्रतिसेयर नेटवर्थ १४६ रुपैयाँ ११ पैसा रहेको छ । अघिल्लो वर्ष यसैअवधिमा प्रतिसेयर आम्दानी २१ रुपैयाँ ४६ पैसा र प्रतिसेयर नेटवर्थ २२८ रुपैयाँ ४१ पैसा थियो ।