युनियन लाइफको खुद बीमाशुल्क ४५ प्रतिशतले बढ्यो |
काठमाडौं । भर्खरै सर्वसाधारणको लागि आईपीओ निष्काशन गरेको युनियन लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ६ अर्ब ५८ करोड ७८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा ४५.४२ प्रतिशतले बढी हो।
अघिल्लो आर्थिक वर्षको यहि अवधिमा कम्पनीले ४ अर्ब ५३ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।
कम्पनीको खुद बीमाशुल्क बढेपनि नाफा भने २१.४८ प्रतिशतले घटेर १३ करोड ३ लाख रुपैयाँमा सीमित भएको छ । अघिल्लो आर्थिक वर्षको यहि अवधिमा कम्पनीले १६ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
कम्पनीको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ६ पैसा र प्रतिशेयर नेटवर्थ १३९ रुपैयाँ ८३ पैसा रहेको छ ।
कम्पनीको प्रतिशेयर आम्दानी गणना गर्दा अन्तिम शेयर संख्या लिएको र सर्वसाधारण शेयर वापतको रकम असार मसान्तको दिन बुक गर्दा प्रतिशेयर आम्दानी कम देखिएको कम्पनीले जनाएको छ।
यस्तै कम्पनीले लगानी, कर्जा तथा अन्य आयबाट ६५ करोड ८ लाख रुपैयाँ र बीमालेख धितोमा कर्जा लगानी गरी ८ करोड ५ लाख रुपैयाँ आम्दानी गरेको छ।
आईपीओ निष्काशन पछि कम्पनीको चुक्ता पुँजी २ अर्ब १५ करोड रुपैयाँ पुगेको छ। यस्तै कम्पनीको जगेडा कोषमा ७६ करोड ८८ लाख रुपैयाँ जीवन बीमा कोषमा ७ अर्ब ६५ करोड ९४ लाख रुपैयाँ र महाविपत्ती कोषमा ८५ करोड ४२ लाख रुपैयाँ सञ्चित छ।
यस अवधिमा ४६ हजार ६९७ वटा बीमालेख जारी गरि ६ अर्ब ८२ करोड ९९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।
कम्पनीले ५०२ वटा दाबी वापत १ अर्ब ८७ करोड १५ लाख रुपैयाँ भुक्तानी गरेको छ भने १७ दाबी वापत २५ लाख ४९ हजार रुपैयाँ भुक्तानी गर्न बाँकि छ।