आजबाट नेवानिको लुक्लामा व्यावसायिक उडान | भाडा पाँच हजार रुपैयाँ मात्रै
काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानि) ले चिनबाट ल्याएको जहाजले आज शनिबारबाट लुक्लाको तेन्जींङ हिलारी विमानस्थलमा व्यावसायिक उडान शुरु गरेको छ । निगमका प्रवक्ता अशोक सिग्देलले आजदेखि लुक्ला उडान सुरु भएको जानकारी दिएका छन् ।
नेपालीका लागि एकतर्फी उडानको भाडा पाँच हजार एक सय पाँच रुपैयाँ रहेको र विदेशीको लागि एकतर्फी उडान शुल्क एक सय ५१ डलर रहेको सिग्देलले जानकारी दिए । वाइ १२−इ ले गत साता मंगलबार र बुधबार सफल परीक्षण उडान गरेको थियो । निगमले सोमबार नेपाल नागरिक उड्डयन प्राधिकरणलाई विवरण पेश गरिसकेपछि प्राधिकरणले बिहीबार उडान अनुमति पत्र पठाएको थियो ।
निगमले गत मंगलबार लुक्लाको तेन्जिङ हिलारी विमानस्थलमा सफल परिक्षण उडान गरेको थियो भने बुधबार हुम्लाको सिमीकोट, डोल्पाको जुफाल, मुगुको ताल्चालगायत चारवटा विमानस्थलमा सफल उडान गरेको थियो ।