लगानीकर्ताको गिरेन मनोबल, अन्ततː नेप्से ५.७२ अंकले बढ्यो |
काठमाडौं । आइतबार निकै उतारचढाव आएको बजार सोमबार भने हरियो बनेर बन्द भएको छ । नेप्से सूचक ५.७२ अंकले बढेर ३१६०.०५ विन्दुमा आइपुगेको छ । १५ अर्ब ९३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । कारोबार अवधिभर नेप्से सूचक हरियो–रातो हुनेक्रम चल्यो । तर बन्द हुने बेलामा बजार सकारात्मक बनेको छ ।
यसले सेयर बजारका आम लगानीकर्तामा सकारात्मक मनोबल रहेको बुझ्न सकिन्छ । बजारले केही अवरोधहरु पार गरेर फेरि नयाँ उचाई तय गर्न सक्ने विश्लेषणहरु हुन थालेको छ । मौद्रिक नीतिका बारेमा लगानीकर्ताहरुमा केही अन्योलता रहँदा आइतबार बजार केही अस्थिर बन्यो । मौद्रिक नीतिमा सेयर बजारका लागि प्रत्यक्ष नकारात्मक असर गर्ने विषय केही छैन । साना लगानीकर्ताका लागि नीति निकै सकारात्मक छ ।
तर ठूला लगानीकर्ताले भने कर्जाको १२ करोडको क्यापलाई लिएर असन्तुष्टि व्यक्त गरिरहेका छन् । मौद्रिक नीतिमार्फत केन्द्रीय बैंकले एक जना व्यक्तिले अधिकतम १२ करोड रुपैयाँसम्म मात्र कर्जा लिन पाउने व्यवस्था गरिदिएको छ । यसमा केही ठूला लगानीकर्ताले असन्तुष्टि व्यक्त गरेका छन् । तर बजारमा पर्याप्तमात्रामा साना र नयाँ लगानीकर्ता थपिएका छन् ।
डिम्याट खाता खोल्नेको संख्या ४० लाख नाघिसकेको छ । यसआधारमा पर्याप्त मात्रामा नयाँ लगानीकर्ता भित्रिएका र दोस्रो बजारमा उनीहरुको भूमिका पनि प्रभावकारी देखिन थालेको छ । ठूला लगानीकर्ताको नियन्त्रणमा मात्र बजार नरहेको अवस्था छ ।
त्यसो त सेयर लगानीकर्ताहरुले १२ करोडको सीमा तत्काल हटाउन माग गरेका छन् । अर्थमन्त्री जनार्दन शर्माले पनि लगानीकर्तालाई कुनै पनि हालतमा सेयर बजारलाई बिग्रिने नदिने आश्वासन दिइसकेका छन् । अर्थमन्त्रीको आश्वासनपछि लगानीकर्ताको आत्मबल वृद्धि हुँदै जाने अपेक्षा गरिएको छ ।
सेयर बजार दैनिक तलमाथि गरिरहन्छ । यो बजारको स्वभाविक प्रक्रिया हो । यसर्थ, आम लगानीकर्ताले योजनाबद्ध हिसाबले अघि बढ्न सक्नुपर्छ । लगानी गरिएका कम्पनीको नाफा, रिजर्भ, प्रतिसेयर आम्दानी, पीई अनुपात लगायतका प्रमुख पक्षहरुमा ध्यान दिन आवश्यक छ । सकेसम्म अलिलामो समयसम्म होल्ड गर्ने हिसाबले लगानी गर्न सक्नुपर्छ । यसो गर्न सकिएमा दिनहुँ हुने उतारचढावबाट प्रताडित हुनुपर्दैन ।
२२७ कम्पीको २ करोड ८६ लाख १७ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १३ मध्ये ७ वटा समूहको सूचक हरियो बनेको छ । उत्पादनमूलक समूहमा सबैभन्दा बढी चमक आएको छ । ५ कम्पनीको भाउ सर्किट लाग्ने गरी बढेको छ । ७४ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा नेसनल हाइड्रोपावर अग्रस्थानमा रहेको छ । दोस्रोमा नेपाल बैंक र तेस्रोमा एचआइडीसीएल परेका छन् ।