सानिमा लाइफको खुद बीमाशुल्क करिब २ अर्ब नजिक |
काठमाडौं । सर्वसाधारणलाई भर्खरै प्राथमिक शेयर (आईपीओ) निष्काशन गरेको सानिमा लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्क उल्लेख्य बढाएको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा कम्पनीको खुद बीमाशूल्क १३३.३८ प्रतिशतले बढेर १ अर्ब ९३ करोड ५४ लाख रुपैयाँ पुर्याएको छ ।
अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा कम्पनीले ८२ करोड ९३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।
यस्तै कम्पनीले लगानी, कर्जा तथा अन्य आयबाट १३ करोड ५१ लाख रुपैयाँ आम्दानी गरेको छ ।
यस अवधिमा कम्पनीको खुद नाफा पनि २०.३७ प्रतिशतले बढेर १० करोड २७ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको यहि अवधिमा कम्पनीले ८ करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
भर्खरै आईपीओ निष्काशन गरेको कम्पनीको चुक्ता पूँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । ६० करोड बराबरको आईपीओ वितरण गरेपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।
कम्पनीको जीवन बीमा कोषमा २ अर्ब १० करोड २० लाख रुपैयाँ, जगेडा कोषमा २४ करोड ७७ लाख रुपैयाँ र महाविपत्ती कोषमा २ करोड ५५ लाख रुपैयाँ सञ्चित छ ।
यस अवधिमा इन्स्योरेन्सले कुल १ अर्ब ९६ करोड ३१ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । कम्पनीले १ हजार ८९ वटा दाबी बापत १० करोड १३ लाख रुपैयाँ भुक्तानी गरेको छ ।