सेञ्चुरी बैंकको नाफा घट्यो |
काठमाडौं । सेञ्चुरी कमर्शियल बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा घटेको छ भने वितरणयोग्य मुनाफा बढेको छ।
गत असार मसान्तसम्ममा बैंकले ७५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.७७ प्रतिशत कम हो। खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेपछि बैंकको खुद नाफा घट्न पुगेको हो।
सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ५९ करोड ४६ लाख रुपैयाँ रहेको छ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३.२९ प्रतिशत घटेको छ भने नेट फि तथा कमिशन आम्दानी ५१.९६ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको सञ्चालन मुनाफा समीक्षा अवधिमा १४.९० प्रतिशत घटेको छ।
खुद नाफा घटेसँगै बैंकको प्रतिशेयर आम्दानी भने घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १ रुपैयाँ २६ पैसा घटेर ८ रुपैयाँ ३० पैसामा झरेको छ। सो अवधिसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १२२ रुपैयाँ ३४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३५.०५ गुणा रहेको छ।