श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको नाफा स्थिर |
काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार फाइनान्सको खुद नाफा करिब स्थिर रहेको छ भने ईपीएस सामान्य घटेको छ।
असार मसान्तसम्ममा फाइनान्सले ११ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको छ। जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.२५ प्रतिशत मात्र बढी हो।
फाइनान्सको खुद ब्याज आम्दानी घटेपनि इम्पेरमेन्ट चार्ज घट्दा खुद नाफा सामान्य बढ्न टेवा पुगेको हो। असार मसान्तसम्ममा फाइनान्सको वितरण योग्य मुनाफा ९ करोड ३८ लाख रुपैयाँ रहेको छ।
समीक्षा अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी १९.१४ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ३.०२ प्रतिशत बढेको छ। त्यसैगरी, फाइनान्सको नेट फि तथा कमिशन आम्दानी ३१.७५ प्रतिशत घटेको छ भने अन्य सञ्चालन आम्दानी ४६ लाख रुपैयाँबाट बढेर ५ करोड ४८ लाख रुपैयाँ पुगेको छ।
गत आर्थिक वर्षमा ७.३७ प्रतिशत बोनस शेयर वितरण गरी चुक्ता पूँजी बढाएको यस फाइनान्सको जगेडा कोष १३.२० प्रतिशत बढेको छ। त्यस्तै, फाइनान्सको निक्षेप १६.२२ प्रतिशत बढेको छ भने कर्जा ३.२१ प्रतिशत घटेको छ।
चुक्ता पूँजीको तुलनामा खुद नाफा बढाउन नसक्दा फाइनान्सको प्रतिशेयर आम्दानी अर्थात ईपीएस भने घटेको छ। सो अवधिमा फाइनान्सको यस्तो आम्दानी ९१ पैसा घटेर १२ रुपैयाँ ८१ पैसा पुगेको छ। सो अवधिसम्ममा फाइनान्सको मूल्य आम्दानी अनुपात ३८.१७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४१ रुपैयाँ ७९ पैसा रहेको छ।