लक्ष्मी बैंकको नाफा ९.२० प्रतिशतले बढ्यो |
काठमाडौं । लक्ष्मी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको खुद ब्याज आम्दानी घटेको छ भने खुद नाफा बढेको छ।
असार मसान्तसम्ममा बैंकले १ अर्ब ५४ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.२० प्रतिशत बढी हो।
बैंकको खुद ब्याज आम्दानी घटेपनि अन्य सञ्चालन आम्दानी बढेपछि खुद नाफा बढ्न पुगेको हो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ७.०१ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी २३.६५ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको सञ्चालन मुनाफा ७.६६ प्रतिशत बढेको छ। बैंकको इम्पेरमेन्ट चार्ज समीक्षा अवधिमा ४७ करोड ५२ लाख रुपैयाँबाट बढेर ५६ करोड ७६ लाख रुपैयाँ पुगेको छ।
सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ३६ लाख रुपैयाँ रहेको छ।
समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी सामान्य बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ३ पैसा बढेर १४ रुपैयाँ ४१ पैसा पुगेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २७.४१ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५७ रुपैयाँ ३२ पैसा रहेको छ।
समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ९ प्रतिशत बढेको छ भने जगेडा कोष ४७.२९ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको निक्षेप १६.५० प्रतिशत र कर्जा १९.८६ प्रतिशत बढेको छ।