रैराङ हाइड्रोपावरको नाफा सुधार, ईपीएस १० रुपैयाँ ५४ पैसा |
काठमाडौं । रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफामा उल्लेख्य सुधार देखिएको छ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ५ करोड ९० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३७५.७६ प्रतिशत बढी हो।
विद्युत बिक्री आम्दानी बढेसँगै खर्च नियन्त्रण गर्दा कम्पनीको नाफा बढ्न पुगेको हो।
समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ३८.९८ प्रतिशत बढेको छ। त्यसैगरी, कम्पनीको कुल आम्दानी ३८.६७ प्रतिशत बढेको छ भने कुल गैर सञ्चालन खर्च ३.०६ प्रतिशत बढेको छ। त्यसैगरी, समीक्षा अवधिमा कम्पनीको जगेडा कोष ५००.४५ प्रतिशत बढेको छ।
खुद नाफा बढेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ८ रुपैयाँ ३२ पैसा बढेर १० रुपैयाँ ५४ पैसा पुगेको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ११३ रुपैयाँ ४६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४०.७८ गुणा रहेको छ।