न्यूयोर्कमा ‘मिस नेपाल यूएसए २०२१’ हुने |

मिस नेपाल अमेरिकाको १० औं वार्षिकोत्सवका अवसरमा न्यूयोर्कमा मिस नेपाल अमेरिका आयोजना गरिने भएको छ । यही सेप्टेम्बर २३ देखि २५ सम्म न्यूयोर्कमा मिस नेपाल अमेरिकाको वार्षिकोत्सव समारोह भव्य रुपमा मनाइने भएको हो ।
नेपालकी चर्चित सञ्चारकर्मी, अभिनेत्री, प्रस्तोता, समाजसेवी साथै मिस नेपाल समेत रहिसकेकी माल्भिका सुब्बालाई प्रतिस्पर्धाको मुख्य प्रशिक्षकका रुपमा नियुक्त गरिएको छ । सुब्बालाई प्रतिस्पर्धीहरुको व्यक्तित्व विकास र सौन्दर्य निखार्नमा सघाउनेछन् ।
अमेरिकामा बसोबास गर्दै आएका नेपाली युवतीहरुले मिस नेपाल युएसको आधिकारिक वेबसाइट www.missusnepal.com वा मिस नेपाल यूएस २०२१ का आयोजकसँग सम्पर्क गरेर आफ्नो आवेदन बुझाउन सकिने बताइएको छ । आवेदन दर्ता गर्ने समय सीमा सेप्टेम्बर १, २०२१ रहेको छ ।
नेपाली−अमेरिकी सामाजिक उद्यमी श्री अमित शाहद्वारा शुरू गरिएको, मिस नेपाल युएस प्रतिस्पर्धा अमेरिकामा बसोबास गर्दै आएका नेपाली युवाहरुका लागि नेटवर्कीङ, सशक्तिकरण, क्षमता प्रस्फुटन र पहिचानका लागि उचित मञ्च बनेको दावी आयोजकको छ । साथै यस प्रतिस्पर्धाले नेपाल र अमेरिका दुवै देशको सांस्कृतिक विविधतालाई समेत उजागर गरेको आयोजकले बताएको छ ।