कृषि विकास बैंकको नाफा करिब ११ प्रतिशत बढ्यो |
काठमाडौं । कृषि विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको खुद ब्याज आम्दानी घटेको छ भने खुद नाफा बढेको छ।
असार मसान्तसम्ममा बैंकले ३ अर्ब ६९ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.८९ प्रतिशत बढी हो।
बैंकको खुद ब्याज आम्दानी घटेपनि खुद ट्रेडिङ्ग आम्दानी र अन्य सञ्चालन आम्दानी बढेको र इम्पेरमेन्ट चार्ज घटेका कारण खुद नाफा बढ्न टेवा पुगेको हो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६.७३ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी १५.६० प्रतिशत घटेको छ। तर, बैंकको खुद ट्रेडिङ्ग आम्दानी ३९ करोड २१ लाख रुपैयाँबाट बढेर ९५ करोड ८४ लाख रुपैयाँ पुगेको छ भने अन्य सञ्चालन आम्दानी ३ करोड ५९ लाख रुपैयाँबाट बढेर ५० करोड २९ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी, बैंकको सञ्चालन मुनाफा २१.०३ प्रतिशत बढेको छ। बैंकको इम्पेरमेन्ट चार्ज समीक्षा अवधिमा ५१ करोडबाट घटेर २ करोडमा सीमित भएको छ।
सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ७३ करोड ५० लाख रुपैयाँ रहेको छ।
खुद नाफा बढेपनि बैंकको प्रतिशेयर आम्दानी भने घटेको छ। गत आर्थिक वर्षमा १५ प्रतिशत बोनस शेयर वितरण चुक्ता पूँजी बढाएको यस बैंकको यस्तो आम्दानी अघिल्लो आर्थिक वर्षको असार मसान्तको तुलनामा ८० पैसा घटेर ३० रुपैयाँ ६५ पैसामा झरेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १५.६३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २३५ रुपैयाँ ५८ पैसा रहेको छ।
समीक्षा अवधिमा बैंकको जगेडा कोष १२.९३ प्रतिशत बढेको छ भने निक्षेप १३.२६ प्रतिशत र कर्जा २५.४५ प्रतिशत बढेको छ।