नेबानिले ताप्लेजुङ−काठमाडौं उडान शुरु गर्दै |
काठमाडौं । लामो समयदेखि बन्द रहेको ताप्लेजुङ−काठमाडौं उडान पुनːशुरु हुने भएको छ । नेपाल बायु सेवा निगमले काठमाडौँ ताप्लेजुङ उडानका लागि टिकट विक्री शुरु गरेको छ । असार दोस्रो सातायता नियमित उडान गर्न नसकेको निगमले भाडादर घटाएर आगामी बुधबारदेखि उडान गर्ने तयारी गरेको हो ।
निगमले यसअघि ७ हजार ४ सय ६० रुपैयाँमा टिकट विक्री गरेको थियो । अहिले १ हजार ६० रुपैयाँ छुटसहित टिकट विक्री गर्न लागिएको हो । यही असोज २४ देखि सातामा दुई दिन (बुधबार र शुक्रबार) उडान गर्ने तालिका सार्वजानिक गरेको छ ।
साथै समिट एयरले समेत सातामा एउटा उडान गर्ने तालिका सार्वजानिक गरिसकेको छ । गत सोमबारदेखि उडान गर्ने बताएको समिटले उक्त दिन मौसम खराबीका कारण उडान गर्न नसके पनि आगामी साताका लागि भने टिकट विक्री गरिरहेको छ । मौसम खराबीलगायतका कारण उडान नियमित नहुँदा जिल्लावासीलाई समस्या हुँदै आएको छ ।