विद्युत उत्पादन हुन थालेपछि शिवश्री हाइड्रोपावर नाफामा |
काठमाडौं । शिवश्री हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीले करिब २ करोड खुद नाफा कमाउन सफल भएको छ।
गत असार मसान्तसम्ममा कम्पनीले १ करोड ८४ लाख १० हजार रुपैयाँ खुद नाफा कमाएको छ। विद्युत उत्पादन हुन थालेपछि कम्पनीको आम्दानी बढ्न गई खुद नाफा कमाउन सफल भएको हो। कम्पनीले सिन्धुपाल्चोक जिल्ला भोटेकोशी गाउँपालिकामा निर्माण गरेको माथिल्लो चाकु ए जलविद्युत आयोजना (२२.२ मेगावाट) ले गत जेठ ९ गतेदेखि सीओडि गरी विद्युत उत्पादन गरिरहेको छ।
सो अवधिसम्ममा कम्पनीले विद्युत बिक्रीबाट ४ करोड ८ लाख २७ हजार रुपैयाँ आम्दानी गरेको छ। कम्पनीको सञ्चालन मुनाफा ३ करोड ५१ लाख ४२ हजार रुपैयाँ रहेको छ।
१ अर्ब ४४ करोड ४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा १ करोड ८४ लाख रुपैयाँ सञ्चित छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी १ रुपैयाँ २८ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २६४ गुणा रहेको छ। त्यसैगरी, कम्पनीको प्रतिशेयर नेटवर्थ १०१ रुपैयाँ २८ पैसा रहेको छ।