साना किसानको नाफा १२.१८ प्रतिशतले बढ्यो |
काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार लघुवित्तको सञ्चालन मुनाफा घटेपनि खुद नाफा बढेको छ ।
गत असार मसान्तसम्ममा लघुवित्तले ६१ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.१८ प्रतिशत बढी हो।
लघुवित्तको सञ्चालन मुनाफा घटेपनि खराब कर्जा उठाउन सफल भएका कारण खुद नाफा बढेको हो।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ९.०२ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ५.७८ प्रतिशत घटेको छ। सो अवधिसम्ममा लघुवित्तले सम्भावित जोखिम बापत ३० करोड ८० लाख रुपैयाँ व्यवस्था गरेको छ भने २० करोड ७ लाख रुपैयाँ खराब कर्जा उठाएको छ।
समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी २५.१२ प्रतिशत बढेको छ भने जगेडा कोष १७.८३ प्रतिशत बढेको छ। त्यसैगरी, लघुवित्तको सापटी ४.५८ प्रतिशत र कर्जा १४.८१ प्रतिशत बढेको छ।
चुक्ता पूँजीको तुलनामा खुद नाफा बढाउन नसक्दा लघुवित्तको प्रतिशेयर आम्दानी (ईपीएस) घटेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ५ रुपैयाँ ६७ पैसा घटेर ४९ रुपैयाँ १४ पैसा पुगेको छ। सो अवधिसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ३३.३७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २८५ रुपैयाँ ८७ पैसा रहेको छ।