नेपाल बङ्गलादेश बैंकको खुद नाफा ८४.१७ प्रतिशतले बढ्यो |
काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद ब्याज आम्दानी घटेको छ भने खुद नाफा बढेको छ।
असार मसान्तसम्ममा बैंकले २ अर्ब २९ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८४.१७ प्रतिशत बढी हो। खुद ब्याज आम्दानी घटेपनि इम्पेरमेन्ट चार्ज रिभर्स हुँदा बैंकको खुद नाफा बढ्न पुगेको हो।
असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ४७ करोड ५२ लाख रुपैयाँ रहेको छ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ७.५० प्रतिशत घटेको छ। तर, बैंकको नेट फि कमिशन आम्दानी ९.३६ प्रतिशत र सञ्चालन मुनाफा ७४.६८ प्रतिशत बढेको छ। सो अवधिसम्ममा बैंकको २७ करोड १५ लाख रुपैयाँ इम्पेरमेन्ट चार्ज रिभर्स भएको छ।
खुद नाफासँगै बैंकको प्रतिशेयर आम्दानीमा पनि सुधार भएको छ। बैंकको प्रतिशेयर आम्दानी समीक्षा अवधिमा १० रुपैयाँ ८१ पैसा बढेर २५ रुपैयाँ ४६ पैसा पुगेको छ। असार मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १७० रुपैयाँ ६५ पैसा पुगेको छ भने मूल्य आम्दानी अनुपात १७.१३ गुणा रहेको छ।
समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ५.९९ प्रतिशत बढेको छ भने जगेडा कोष ४०.४८ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको निक्षेप ३१.४५ प्रतिशत र कर्जा १५.८६ प्रतिशत बढेको छ।