एनएलजी इन्स्योरेन्सको १५ औँ वार्षिक साधारण सभा सम्पन्न, लाभांश पारित |
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको बिहीबार सम्पन्न १५ औँ वार्षिक साधारण सभाले लाभांश पारित गरेको छ ।
भर्चुअल माध्यमबाट सम्पन्न भएको सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले हुन आउने १० करोड ९६ लाख रुपैयाँ बराबरको बोनस शेयर र बोनस शेयरमा लाग्ने करको लागि ०.५२६३ प्रतिशतले हुन आउने ५७ लाख ७० हजार रुपैयाँ नगद लाभांश पारित गरेको हो ।
हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ९ करोड ६३ लाख ७५ हजार ५०० रुपैयाँ छ । शेयरधनीलाई बोनस शेयर वितरण पश्चात इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब २० करोड ६० लाख १३ हजार ५० रुपैयाँ पुग्नेछ ।
सभाले आर्थिक वर्ष २०७६∕७७ को प्रतिवेदन छलफल गरी पारित गर्ने, वासलात र अन्य वित्तीय विवरण छलफल लगायतका प्रस्ताव पनि पारित गरेको छ ।
कम्पनीले गत आर्थिक वर्ष २०७६∕७७ मा ६४ करोड ६४ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरी २६ करोड २६ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।