दशैंमा ५ दिन मात्रै बैंक बन्द हुने | बिदाका दिनमा तोकिएका काउन्टरबाट बैकिङ्ग सेवा दिइने
काठमाडौं । सरकारले यसवर्ष सार्वजनिक बिदा कटौती गरे सँगै बैंकहरु ५ दिन मात्रै बन्द हुने भएका छन् । अघिल्लो वर्ष ८ दिन दशैं बिदा भएको थियो । अन्य सार्वजनिक बिदा कटौतीसँगै बैंकहरु पनि अघिल्लो वर्षको तुलनामा ३ दिन कम बन्द हुने भएका हुन ।
तर पनि ग्राहकहरुको सुविधाका लागि सार्वजनिक विदाका दिनमा पनि विगत बर्षहरुमा जस्तै यस बर्ष पनि बैंकहरुले ५६५ दिने बैंकिङ्ग सेवा भने प्रदान गर्नेछन् ।
अघिल्ला बर्षको दशैंमा घटस्थापना, द्वादशी र कोजाग्रत पूर्णिमामा दिनमा सार्वजनिक विदा हुने गरेको थियो । यो बर्ष भने यी तीन दिन नै बैंकहरु खुला हुनेछन् । यो बर्षमा दशैंमा असोज ३० गते फूलपातिदेखि कात्तिक ३ गते एकादशीसम्म पाँच दिन मात्र सार्वजनिक विदा हुनेछ ।
एकादशीको भोलीपल्ट अर्थात कात्तिक ४ गते आइतबारदेखि भने बैंकहरुले पूरा कार्यालय समयमा बैंकहरु खुल्नेछन् ।
तिहारमा ३ दिन बिदा हुनेछ । नेपाल राष्ट्र बैंकले २०७५ सालमा बैंकिङ क्षेत्रलाई ३६ दिन सार्वजनिक विदा निर्धारण गरेको थियो । राष्ट्र बैंकले पुरै दिन हुने बिदालाई ‘क’ वर्ग र आधा दिन हुने बिदालाई ‘ख’ वर्गमा दुई भागमा वर्गिकरण गरि विभाजन गरिएको छ ।