नेपाल स्टक एक्सचेन्जले पुरानो वेबसाइट बन्द गर्दै |
काठमाडौं । नेपाल स्टक एक्सचेन्जले पुरानो आधिकारिक वेबसाइट बन्द गर्दै नयाँ साइटलाइ आधिकारिक बनाउने प्रकृया सुरु गरेको छ । यति बेला नेप्सेले पुरानो वेबसाइटमा भएको डाटा धमाधम नयाँमा सारिरहेको छ ।
पुरानो वेबसाइटको डाटा नयाँमा सार्न थालिएकै कारण पुरानो वेबसाइट यति बेला लगानीकर्ताले हेर्न पाएका छैनन् । प्राविधिक काम भइरहेकोले लगानीकर्ताले पुरानो वेबसाइट हेर्न नपाएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
हाल नेप्सेको दुईवटा वेबसाइट सर्वसाधारणको लागि उपलब्ध छन् । जसमा नेपाल स्टक डट कम र नेपाल स्टक डट कम डट एनपी छन् । आउने दिनमा नेप्सेले पुरानो वेबसाइट नेपाल स्टक डट कम बन्द गर्दै छ भने नेपाल स्टक डक कम डट एनपीलाई स्तरोन्नति गर्दै लगेको जनाएको छ ।
तत्कालको लागि दुवै वेबसाइट सञ्चालन गर्ने भएपनि सर्वसाधारणले भने नेपाल स्टक डट कम डट एनपीमै लग इन गर्नु पर्ने छ । लगानीकर्तालाई केही समय पुरानो वेबसाइट हेर्ने सुविधा पनि नेप्सेले उपलब्ध गराउने छ । तर त्यसको लागि भने नेप्सेको नयाँ वेबसाइटमै गएर ओल्ड साइट भन्ने फिचरमा किल्क गरेपछि मात्रै पुरानो वेबसाइटमा जान सक्ने नेप्सेको भनाई छ ।