सिनर्जी पावरको नाफा घट्यो |
काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानीसँगै खुद नाफा पनि घटेको छ ।
गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले ८ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २४.१४ प्रतिशत कम हो ।
समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी १४.६७ प्रतिशत घटेको छ । त्यसैगरी, कम्पनीको कुल नाफा १४.६० प्रतिशत घटेको छ भने खर्च पनि १४.२५ प्रतिशत घटेको छ ।
गत आर्थिक वर्षको हिउँदयाममा खोलाको जलस्तरमा कमी आएका कारण कम्पनीको विद्युत बिक्री आम्दानी घटेको वित्तीय विवरणमा उल्लेख छ ।
समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी ४.७५ प्रतिशत बढेको छ भने जगेडा कोष १३३.२८ प्रतिशत बढेको छ ।
खुद नाफा घटेपछि कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ४ रुपैयाँ ३० पैसा घटेर ११ रुपैयाँ २९ पैसा पुगेको छ । असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १११ रुपैयाँ ४० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३९.७९ गुणा रहेको छ ।