तेह्रथुम पावर कम्पनीले आईपीओ निष्कासन गर्दै |
काठमाडौं । तेह्रथुम पावर कम्पनीले साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले ४ लाख कित्ता शेयर स्थानीय प्रभावितलाई र ८ लाख कित्ता शेयर सर्वसाधारणलाई निष्काशन गर्ने तयारी गरेको हो । कम्पनीले आईपीओ निष्काशन गर्न एनआइबिएल एस क्यापिटललाई विक्री प्रबन्धक नियुक्त गरेको छ ।
शेयर निष्काशन सम्बन्धी सम्झौतापत्रमा तेह्रथुम पावर कम्पनीका तर्फबाट प्रवन्ध सञ्चालक मोहनकुमार डाँगी र एनआइबिएल एस क्यापिटलका तर्फबाट महाप्रबन्धक मेखबहादुर थापाले हस्ताक्षर गरेका छन्। ।
हाल उक्त कम्पनीको अधिकृत पुँजी ४० करोड, जारी पुँजी ४० करोड र चुक्ता पुँजी २८ करोड रुपैयाँ छ । स्थानीय बासिन्दा तथा सर्वसाधारणमा शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात कम्पनीको चुक्ता पुँजी ४० करोड पुग्ने कम्पनीले जानकारी दिएको छ ।
तेह्रथुम पावर कम्पनीले तेह्रथुमका साविक मोराहाङ, श्रीजुङ, पौठाक र ओयाक्जुङ गाविसहरु हाल मेन्छ्यायेम गाउँपालिकामा ७.५ मेगावाट क्षमताको माथिल्लो खोरूंगा खोला जलविद्युत आयोजनाको निर्माण कार्य गरिरहेको छ ।