‘धुर्मुस–सुन्तली’ अभिनित नयाँ चलचित्र ‘म त मर्छु कि क्या हो’ को ट्रेलर रिलिज | फिल्म स्ट्रिमिंग प्लेटफर्म ओहो ! मुभिजमा सार्वजनिक हुने
काठमाडौं । मौलिक र अन्त कतै नपाइने विषयवस्तुहरु जस्तै सिनेमा, सङ्गीत, टेलिभिजन कार्यक्रमहरु असीमित संख्यामा प्रसारण गर्ने उद्देश्यका साथ इन्टरनेटमा उपलब्ध भएको प्रिमियम ओटीटी प्लेटफर्म ओहो ! मुभिजले आफ्नो पहिलो सिनेमा प्रसारणको रुपमा धुर्मुस सुन्तलीको आगामी चलचित्र ‘म त मर्छु कि क्या हो’ प्रसारण गर्दैछ । नेपाली चलचित्रको प्रबर्धनमा ओहो मुभिज प्रतिबद्ध छ । यसैका निम्ति ‘म त मर्छु कि क्या हो’ केवल ओहो ! मुभिजबाट संसारभर प्रसारण हुँदैछ ।
सु बिहानी मुभिजको प्रस्तुति ‘म त मर्छु कि क्या हो’ धुर्मुस सुन्तलीद्वारा निर्मित दोस्रो चलचित्र हो । नेपालको सामाजिक राजनीतिक विषयवस्तुमा केन्द्रित रहेको यस हाँस्यचलचित्रमा ख्यातीप्राप्त जोडी धुर्मुस सुन्तली शिर्ष भूमिकामा छन् भने बुद्धी तामांग, सुमन कार्की, पल्पसा डंगोल लगायत अन्य चर्चित कलाकारहरुको पनि अभिनय रहेको छ ।
यस भिडियो अन डिमाण्ड एप्लिकेसनले आफ्नै भाइबर समुदाय लन्च गर्न राकुटेन भाइबरसँग सहकार्य गरेको छ जहाँ भाइबर प्रयोगकर्ताहरुले नेपाली चलचित्र उद्योगका सम्पूर्ण गतिबिधिहरु, ओहो मुभिजका आगामी प्रसारणसम्बन्धि अपडेटहरु, र कलिवुड उद्योगका स्टारहरुका अन्तरंग खबरहरु पनि हेर्न, पढ्न सक्नेछन् ।
भाइबरसँगको सहकार्यमा, ओहो ! मुभिजले ‘धुर्मुस सुन्तली’ नामक समर्पित स्टिकर प्याक पनि रिलिज गर्दैछ । यस स्टिकर प्याकमा सोही सिनेमाका चर्चित संवादहरु रहनेछन्। भाइबर प्रयोगकर्ताहरुले यो स्टिकर प्याक श्रावण चौध गतेबाट डाउनलोड गर्न सक्नेछन् । यस स्टिकर प्याकको सहयोगले भाइबर प्रयोगकर्ताहरुले आफ्ना कुराकानी झन् रमाइलो, चोटिलो र भाव भंगीमायुक्त बनाउन सक्नेछन् ।
ओहो ! मुभिजले यस सिनेमाको प्रसारणका निम्ति प्रभु पे लाई आफ्नो आधिकारिक भुक्तानी पार्टनरको रुपमा सहयात्री बनाएको छ । प्रभु पेको इन्टिग्रेसन प्रयोग गरेर दर्शकहरुले फिल्म हेर्न सक्नुहुनेछ ।
प्लेस्टोर र एपस्टोर दुवै ठाउँमा उपलब्ध ओहो ! मुभिजले नेपाली, बलिउड, हलिउड, र अन्य अन्तर्राष्ट्रिय भाषाका चलचित्रहरु नेपाल सरकारको इजाजतपत्र अन्तर्गत प्रसारण गर्नेछ । दर्शकहरुले उच्च गुणस्तरको एचइभीसी डल्बी अडियो सिनेमाहरु, टीभी शोहरु, र अरु थुप्रै कार्यक्रमहरु जुनसुकै समयमा हेर्न सक्नेछन् ।