दशैं अगाडि काठमाडौं−तुलसीपुर हवाई सेवा शुरु हुने | आज नेवानिको परीक्षण उडान
दाङ । लामो समय बन्द अवस्थामा रहेको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलमा नेपाल एयरलाइन्सले उडान गर्ने भएको छ । मंगलवार नेपाल एयरलाइन्सको सानो जहाजले परीक्षण उडान गर्ने छ । परीक्षण उडानमा पाइलट, प्राविधिक र जनप्रतिनिधिहरु रहने छन् । उनीहरुले दिने रिपोर्टका आधारमा एयरलाइन्सले जहाज उडानको नियमित तालिका बनाउने बताइएको छ ।
परीक्षण सफल भएमा दशैं अगाडिबाटै काठमाडौं−तुलसीपुर सातामा दुईपटक सेवा सञ्चालनको तयारी गरिएको नेपाल एयरलाइन्सका प्रवक्ता अशोक सिग्देलले जानकारी दिएका छन् । सम्भवतः सोमबार र शुक्रबार उडान हुने छ । एक हप्ता भित्र सबै प्रक्रिया पूरा भएर विमान कमर्सियल रुपमा सञ्चालन हुने सिग्देलको भनाई छ ।
दाङमा इन्धन डिपो नभएकाले काठमाडौंबाट भैरहवा हुँदै तुलसीपुर
नेपाल वायु सेवा निगमको जहाज काठमाडौंबाट भैरहवा हुँदै तुलसीपुरस्थित टरीगाउँ विमानस्थलमा अवतरण गर्ने छ । टरीगाउँ विमानस्थलमा इन्धन डिपो नभएकाले भैरहवा विमानस्थल प्रयोग गर्नु परेको हो । तुलसीपुरमा इन्धन डिपो नहुुँदा तुलसीपुरमा हवाई सेवा नियमित हुन सकेको छैन ।
तुलसीपुर जाने जहाजहरुलाई नेपालगञ्ज, भैरहवा वा सुर्खेत डिपोमा तेल भरेर तुलसीपुर जानुपर्ने बाध्यता छ ।
त्यसैले काठमाडौंबाट तुलसीपुर जाँदा समय धेरै लाग्ने र भाडा पनि महंगो हुने भएपछि एयरलाइन्स कम्पनीहरुको प्राथमिकतामा टरीगाउँ विमानस्थल नपरेको हो ।
काठमाडौं−तुलसीपुर जहाज सञ्चालनका लागि प्रतिनिधि सभा सदस्य मेटमणी चौधरी, तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेसँगै, नेकपाका नेता सुरामणी बेलबासे, मेघराज भुषाल, पदम केसी र विष्णु केसीले निगमका कार्यकारी अध्यक्ष मदन खरेलसँग सोमबार भेट गरेका थिए । सोमबार भएको सोही भेटमा काठमाडौं−तुलसीपुर विमान सेवा सञ्चालन गर्ने सहमति भएको हो ।
सुरुमा ६ हजार भाडा
सातामा दुईपटक सञ्चालन हुँदा एकतर्फी भाडा शुरुमा ६ हजार रुपैयाँसम्म हुने र केहि समय पछि ५ हजार रुपैयाँभन्दा पनि कम भाडाबाट सुरु हुने बताइएको छ । काठमाडौं−तुलसीपुर नियमित उडानका लागि पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्री र निगमका कर्मचारी सकारात्मक रहेको बताइएको छ ।