जेफ बेजोसले आज अंतरिक्षको उडान भर्ने, नर्भस नभएको प्रतिक्रिया |
विश्वका सबैभन्दा धनी व्यक्ति तथा अमेजन कम्पनीका पूर्वसीईओ जेफ बेजोस आज मंगलबार पहिलो अन्तरिक्ष यात्रामा जाँदैछन् । आफ्नै कम्पनी ब्लु ओरिजिनको रकेटयान न्यू शेर्फडमार्फत् बेजोस अन्तरिक्ष यात्रामा जान लागेका हुन् ।
उक्त अन्तरिक्ष यात्रामा बेजोससँगै उनका भाइ मार्क बेजोस, ८२ वर्षकी वाली फंक र १८ वर्षका एक युवक ओलिभर डायमेन रहनेछन् ।
उनीहरु अन्तरिक्षमा एक क्याप्सुलभित्र रहनेछन् जसको विशाल झ्यालबाट पृथ्वीको अद्धितीय दृश्य हेर्न पाउनेछन् ।
बेजोसको कम्पनी ब्लु ओरिजिनको तयार गरेको न्यु शेर्फड यान अन्तरिक्ष पर्यटनको अत्यधिक सम्भावनालाई क्यास गर्नका लागि डिजाइन गरिएको हो ।
आफ्नो अन्तरिक्ष उडानबाट आफू निकै उत्साहित रहेको भन्दै बेजोसले भनेका छन्, ”म उत्साहित छु । मानिसहरुले तपाईं नर्भस हुनुहुन्छ कि भनेर मलाई सोधिरहेका छन् । वास्तवमा म नर्भस होइन उत्साहित छु । हामीले के सिक्न जाँदैछौँ भन्ने कुरा म जान्न चाहन्छु ।”
सीबीएससँगको अन्तर्वार्तामा उनले भनेका छन्– हामीले तालीम गरिरहेका छौँ यो यान र यात्रुहरु तयार छन् । यो टिम उत्कृष्ट छ । हामीले निकै राम्रो महसुस गरिरहेका छौँ ।
अमेरिकाको टेक्सासमा रहेको भान हर्नस्थित बेजोसको अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट बेजोससहितका यात्रुलाई लिएर मंगलबार स्थानीय समय अनुसार बिहान नौ बजे न्यु शेफर्ड रकेट अन्तरिक्षयात्रामा उड्नेछ ।
रकेटभित्र रहेको क्याप्सुलमा रहेर यात्रुहरु पृथ्वीभन्दा १०६ किलोमिटरमाथि पृथ्वीको कक्षीय क्षेत्रमाथि पुग्नेछन् । उनीहरु पृथ्वीमा अवतरण गर्दाचाहिँ प्यारासुटबाट गर्नेछन् ।
चार मिनेटसम्म जिरो–ग्राभिटीको अनुभवः
वेली फंकले भनिन्, ‘अन्त्यमा यो वास्तविकतामा परिणत हुँदैछ । मैले यसका लागि लामो प्रतीक्षा गरेकी छु र लामो समयदेखि यो सपना देख्दै आएको छु ।’
उनका अनुसार जब अंतरिक्षमा उनको भार शून्य हुनेछ तब उनीहरु टाउको माथि गरेर कसरत गर्नेछन् ।
सन् १९६० को दशकमा वेली फंक मर्करी १३ जना महिला भएको एउटा यस्तो समूहको हिस्सा थिइन् जसले पुरुष अंतरिक्ष यात्रीले झैं टेस्ट र स्क्रिनिङको प्रक्रियाबाट गुज्रनुपर्यो तर कहिल्यै अंतरिक्ष जाने मौका दिइएन ।
न्यू शेफर्ड नेपाली समायानुसार मंगलबार बेलुका पौने सातबजे अमेरिकाको टेक्ससबाट उडान भर्नेछ । यसलाई जेफ बेजोसको नीजि लञ्च साइट वेन हर्नबाट एउटा रकेटमार्फत् लञ्च गरिनेछ ।
जेफ बेजोस, उनका भाइ मार्क बेजोस, वेली फंक र ओलिवर डायमेनलाई लिएर यो स्पेस क्याप्सुल आफ्नो बुस्टरबाट करिब ७६ किलोमिटरको उचाईमा अलग हुनेछ । त्यसपछि रकेट आफ्नो खुट्टामा लञ्च प्याडभन्दा दुई मिल पर ल्याण्ड गर्नेछ जबकी क्याप्सुल अंतरिक्षमा १०६ किलोमिटरसम्म आफ्नो यात्रा जारी राख्नेछ ।
जेफ बेजोसले सीबीएस न्यूजलाई भने, ‘हामी लगभग चार मिनेटसम्म जिरो ग्राभिटी (शून्य गुरुत्वाकर्षण) मा रहनेछौं, हामी आफ्नो सीटबाट उठ्नेछौं, चारैतिर तैरनेछौं र धर्तीको वायुमण्डललाई हेर्नेछौं ।’
जेफ बजोसलाई अंतरिक्षमा लैजाने न्यू शेफर्डः
जेफ बेजोसको कम्पनी ब्लू ओरिजिनका अनुसार स्पेस क्याप्सूल न्यू शेफर्डबाट देखिने दृश्य शानदार र जिरो ग्राभिटीको अनुभव अद्भूत हुनेछ ।
अधिकतम उचाईमा पुगेपछि क्याप्सूल तल आउन थाल्नेछ र यात्रीलाई प्यारासुटमार्फत् नरम बालुवामा ल्याण्ड गराइनेछ ।
ब्लू ओरिजिनको योजना आफ्ना यात्रीलाई धर्तीको सतहभन्दा १०० किलोमिटरभन्दा माथिमा उचाईमा लैजाने हो जहाँ उनीहरुले माइक्रोग्राभिटी (जहाँ गुरुत्वाकर्षण अत्यधिक कमजोर छ) महसुस गर्नेछन् ।
यो यात्रा १० मिनेटमा पूरा हुने आशा गरिएको छ र यात्री धर्तीमा प्यारासुटमार्फत् फिर्ता हुनेछन् ।
अत्यधिक खर्च र आलोचनाः
ओलिवर डायमेनले यो मौका ती अज्ञात व्यक्तिको सट्टा पाएका हुन् जसले यसका लागि एक सार्वजनिक लिलामीमा २८ मिलियन डलरको अन्तिम बोली लगाएका थिए ।
जेफ बेजोसको स्पेस कम्पनी ब्लू ओरिजिनका अनुसार यो मौकाका लागि लिलामीमा सबैभन्दा धेरै बोली लगाउने व्यक्ति समयको कमीका कारण मिसनमा जान सक्षम भएनन् ।
ब्लू ओरिजिनका अनुसार जोएस डायमेनले दोस्रो फ्लाइटका लागि सीट बुक गराएका थिए तर जब पहिलो बिजेताले आफ्नो नाम फिर्ता लिए तब उनलाई यो मौका दिइयो । तर त्यसपछि जोएस डायमेनले आफ्नो साटो छोरालाई पठाउने निर्णय गरे ।
ओलिवर डायमेन भौतिक विज्ञानका छात्र हुन् । यस्तै वेली फंक यो यात्रापछि अंतरिक्षमा जाने सबैभन्दा उमेरदार महिला बन्नेछिन् ।
यद्यपि, अंतरिक्षमा जानका लागि अत्यधिक खर्च गरेकोमा जेफ बेजोस र रिचर्ड बेनसनको अत्यधिक आलोचना पनि भइरहेको छ । अर्बपतिले यो पैसाको प्रयोग जलवायु परिवर्तनविरुद्धको लडाईं वा महामारीसँग जुध्नका लागि लगाउन सक्थे भनेर थुप्रैले भनिरहेका छन् ।
बीबीसी