एनसीसी बैंकको विक्री नभएको संस्थापक हकप्रद शेयर सञ्चय कोषले किन्ने | हकप्रद निष्कासनपछि पनि बैंकको चुक्तापूँजी नपुग्ने
काठमाडौं । कर्मचारी सञ्चय कोषले नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकको संस्थापक शेयर किन्ने भएको छ । कोषले विक्री हुन बाँकी ३८ लाख ५९ हजार १ सय ९१ कित्ता हकप्रद शेयर खरिदका लागि केही दिनअघि मात्रै पत्राचार गरी हकप्रद शेयर किन्ने चासो देखाएको हो ।
मुख्य लगानीकर्ता एनबी ग्रुप र निर्मल प्रधानले हकप्रद शेयर खरिद नगरेपछि कोषले किन्ने भएको हो । कोषले बैंकको न्यूनतम १५ प्रतिशत स्वामित्व लिने तयारी गरेको छ । बैंकले चुक्तापूँजी बढाउन ५० प्रतिशत अर्थात् २ अर्ब ३३ करोड ९५ लाख २९ हजार १ सय रुपैयाँबराबरको २ करोड ३३ लाख ९५ हजार २ सय ९१ कित्ता हकप्रद शेयर निष्कासन गरेको हो ।
सर्वसाधारणका लागि हकप्रद निष्कासन असोज २२ गतेसम्म हुने र विक्री प्रवन्धक सनराइज रहेको बैंकले बताएको छ । हकप्रद निष्कासनपछि बैंकको चुक्तापूँजी ७ अर्ब १ करोड ८५ लाख रुपैयाँ हुनेछ । हकप्रद निष्कासनपछि पनि बैंकको ९९ करोड रुपैयाँ चुक्तापूँजी नपुग्ने देखिएको छ । तोकिएको समयमा पूँजी नपुर्याउनेमा एनसीसी बैंक मात्र भएको छ ।
यसअघि एनबी ग्रुपले आफनो स्वामित्वमा रहेको ७२ लाख कित्ता संस्थापक शेयर बेच्नका लागि लिलामी आव्हान गरेको थियो । सीबीआईएल क्यापिटल लिमिटेडमार्फत उसले प्रतिकित्ता २ सय १० रुपैयाँमा विक्री गर्न प्रस्ताव गरेको थियो ।