योजना आयोगले डाटा प्रोफाइल बनाउने | लगानीकर्तालाई सहयोग पुग्ने
काठमडौं । राष्ट्रिय योजना आयोगले लगानीकर्तालाई सहयोग पुग्ने भन्दै ‘नेसनल डाटा प्रोफाइल’ बनाउने भएको छ । सरकारले कुन क्षेत्रमा कस्तो किसिमको जनशक्तिको आवश्यक छ, के कति उत्पादन भइरहेछ र कस्तो किसिमका सम्भावनाहरू रहेका छन् भन्ने विषयको क्षेत्रगत तथ्यांक संकलन गरेर डाटा बैंक बनाउन नेसनल डाटा प्रोफाइल बनाउने तयारी गरेको हो ।
कुन क्षेत्रमा कस्तो प्रकृतिको कति रोजगारी सिर्जना भएको छ यस विषयमा सहजै जानकारी पाउन तथ्यांक संकलन गर्न लागिएको आयोगको भनाई छ । दीर्घकालीन विकासको खाका तयार पार्न यस्ता प्रकृतिको डाटाको आवश्यक पर्ने बताइएको छ ।
सबैै देशको क्षेत्रगत हुन्छ तर हाम्रो देशमा पनि केही क्षेत्रको तथ्यांक भए पनि धेरै क्षेत्रको राष्ट्रिय तथ्यांक नभएकोले ब्यवसायीहरु समस्यामा पर्दै आएका छन् । वस्तुगत संघसंस्था तथा एनजीओ र आईएनजीओले गरेका एकाध तथ्यांक भए पनि यसलाई आधिकारिक भने मान्न सकिदैन । स्वदेशी तथा विदेशी लगानीकर्ताको मनोबल उच्च राख्न देशमा लगानीको वातावरण सिर्जना गर्न समेत यस्तो तथ्यांक आवश्यक पर्छ ।